२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

शैलुङमा  हिउँ खेल्नेको भीड

राजेन्द्र मानन्धर

दोलखा — दोलखाको कालिञ्चोकपछिको चर्चित गन्तव्य बनिरहेको शैलुङ डाडामा हिउँ पर्न सुरु भएदेखि नै चहलपहल बढेको छ । यो उच्च पहाडको थुम्काहरुमा यतिबेला पर्यटकको भीड लागेको छ । सडक र बासको सुविधासँगै शैलुङमा भीड बढेको स्थानीयहरुले बताए । स्थानीय व्यवसायी गणेश श्रेष्ठ अघिल्ला वर्षहरु भन्दा यो वर्ष हिमपात हुनेबित्तकै ठूलो संख्यामा पर्यटक आएको बताउँछन् ।

एउटा ठूलो मैदानमा सय वटा फरफरक आकृतिका थुम्का भएको शैलुङ यतिखेर हिउँले सेताम्मे छ । एकपटक परेको हिउँ कम्तीमा पनि तीन महिना बिलाउँदैन । त्यसैले हिउँमा रमाउन पुग्नेहरुका लागि स्की बिल्कुलै नयाँ खेल हो । शैलङमा हिउँ परेको सूचना पुग्नेबित्तिकै नेपाल माउन्टेन एकेडमीले आफ्ना प्रशिक्षार्थीलाई प्रशिक्षणमा ल्याउँछ । वर्षको तीन महिना शैलुङमा स्की सञ्चालन र प्रशिक्षण हुनसक्ने सम्भाव्य अध्ययन समेत भैसकेको नेपाल माउन्टेन एकाडेमीका प्रशिक्षक छिरिङ शेर्पा बताउँछन् ।

राजधानीबाट १ सय ६ किलोमिटर अरनिको राजमार्ग र पुष्पलाल मार्ग पुगेपछि मुढे बजार आइपुग्छ । त्यहाँबाट पूर्वतिर विस्तार भएको सडकबाट २० किलोमिटर यात्रापछि बेसक्याम्प कालापानी पुग्छ । त्यहाँबाट पदयात्रा गर्दै शैलुङको टुप्पोमा पुग्दा देखिन अदभूत स–साना थुम्काहरुले पर्यटकलाई अकर्षित गर्छ । शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले सजिलो सडक र अन्य पूर्वाधारको विकाससँगै पर्यटकको संख्यामा वृद्धि भएको बताए । कालापानीमा निर्माण हुन लागेको होमस्टेपछि झन् पर्यटकको वृद्धि हुने उनी बताउँछन् ।

प्रकाशित : पुस २८, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्