कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खिचरा महोत्सव : चिच्चरकै मूर्ति, चिच्चरकै खान्की

रमेशकुमार पौडेल

चितवन — पूर्वी चितवनको खैरहनी जबकौलीको गौचरनमा आइतबारबाट सातौं खिचरा महोत्सव सुरु भएको छ । माघे संक्रान्तिका बेलामा थारु समुदायले मनाउने विशेष पर्व हो खिचरा । यो पर्वको खास खान्की हो चिच्चर । महोत्सव हेर्नले थारु समुदायले पकाउने परिकारको स्वाद लिन पाउने छन् । थारुहरुको संस्कार, संस्कृति, औजार उपकरणहरु हेर्ने अवसर पनि प्राप्त हुने छ ।

माघ एक गतेलाई नयाँ वर्ष मानेर पश्चिम तराईका थारुहरुले ‘माघी’ मनाउने गर्दछन् । पूर्वी तराइका थारुहरुले खिचडा र चितवन नवलपुर क्षेत्रका थारुहरुले खिचरा भन्ने गर्दछन् । खिचराको मुख्य परिकार अनदी धानको चामललाई बाफमा पकाएर बनाएको नरम भात अर्थात चिच्चर हो । चिच्चर भोर्ला वा केराको पातमा पोको पारेर राख्ने र आगोमा पोलेर खाने चलन छ । यसलाई थारु समुदायहरु ‘पोका’ भन्ने गर्दछन् ।खिचरा महोत्सव छिर्ने बित्तिकै ‘पोका’ र घोगीको मुर्ती देख्न पाइन्छ । त्यहाँ फोटो र सेल्फी खिच्न चाहनेको राम्रै जमघट हुन्छ । ‘चिच्चर पोका, घोगी, हाँसको मासु र माछा हाम्रो विषेश परिकार हो ।

महोत्सव हेर्न आउनेले चिच्चर पोका र घोगीको मूर्तिअघि उभिएर फोटो मात्रै खिच्न पाउँदैनन् । पेट भरी खान पनि पाउँछन्’ महोत्सव सत्कार समितिका संयोजक चन्द्रा चौधरीले भनिन् । थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ चितवनले सात वर्षदेखि माघीका बेलामा प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । माघ आठ गतेसम्म चल्ने महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले उद्घाटन गरे । उद्घाटनअघि निस्केको शोभायात्रामा थारु समुदायको खास झाँकी हेर्न पाइएको थियो । महोत्सवमा आउने नयाँ पुस्तासमेत आफ्नै पहिरन र गहनामा झकिझाउ भएका थिए ।

महोत्सव छिर्ना साथ चिच्चर पोका र घोगीको मूर्ति मात्रै नभएर थारु समुदायको परम्परागत ब्रहृमथान, परेवाको घर र अन्य परम्परागत औजारहरु पनि हेर्न पाइन्छ । ‘ब्रहृमथान भनेको थारु समुदायका व्यक्तिहरु जम्मा भएर कुललाई सम्झेर पुजा गर्ने ठाउँ हो । ‘जेठ र असारको बीच धानमा रोग नलागोस्, उब्जनी नघटोस भनेर गुरौंले पूजा गर्दछन्’ थारु समुदायका अगुवा बासु चौधरीले भने ।


प्रकाशित : पुस २७, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्