२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आगोमा नाच [फोटोफिचर]

अनिश तिवारी

सिन्धुपाल्चोक — बलेफी गाउँपालिकाको फुल्पिङकोट बगाले थापा गाउँमा मंगलबार बेलुकी छुट्टै रौनक देखिन्थ्यो । बेलुकी ९ देखि १० बजेसम्म पञ्चे बाजागाजाको आवाज, वरीपरी गाउँलेको सुरक्षाबीच ८४ भारी दाउराको आगोको चाङ दन्किरहृयो । के हुन्छ भन्ने जिज्ञासा मेट्न बसेका सबैको नजर ‘अग्नीकुण्ड’ आगोको थुप्रोमा केन्द्रित थियो ।

एक्कासी पञ्चे बाजाको स्वर चर्किलो बन्यो । स्थानीय गाउँले एकदमै सर्तक बनेर हेर्न थाले । आगोको थुप्रो छेउकै पालबाट एउटा समूह नाच्दै निस्के । रुद्राक्ष र घन्टी भिरेका दुई वृद्धसहित १३ जना युवा आगोछेउ आएर उफ्रिन थाले ।

फेरि त्यहाँ एउटा अपत्यारिलो घटना भयाे, एक्कासी १३ जना युवा भटाभट आगोमाथि नाच्दै दौड्न थाले । हिमाली सिरेटोमा कठ्यांग्रीँदो जाडोमा पनि सेतो कछाड र गन्जीको पहिरन । ‘हाहा हरे हरे ’भन्दै उनीहरु भटाभट आगोलाई फुटबलझैं खेल्न थाले । हेर्न आएका गाउँलेदेखि बजारभरका स्थानीयमा खैलाबैला मच्चियो । भीड नियन्त्रण गरिरहेका स्थानीय लौरा लिएर वरीपरी तैनाथ थिए । नजिकिरहेको जमातलाई उनीहरुले कुशलतापूर्वक सम्हाले ।

आगोमाथिको नृत्य ‘एडभेन्चर’ रमाइलो हेर्दै दंगदास परेको भीडको भिडियो र तस्बिर खिच्दै सामाजिक सञ्जालमा हाल्न थाले । हेर्दाहेदै ८४ भारीको आगोको दन्किरहेको आगोको थुप्रो १३ युवा नाच्दानाच्दै कोइलामा परिणत भयो । ‘बल्ल खली परम्परा सुरक्षित रुपमा सकियो, यसको लागि ६६ वर्ष लाग्यो,’ थापा गाउँ सुधार समितिका अभियन्ता शम्भु थापाले भने । २०१० सालअघि वर्षैपिच्छै यस्तो परम्परालाई मान्दै मृतात्माको शान्तीको लागि खली प्रथा गरिएको उनले सुनाए ।

आर्थिक र सामाजिक अनेक समस्या व्यर्होनुपरेकाले परम्परालाई नियमित गराउन गाउँबाटै सहयोग जुटाएको उनको भनाई छ । ‘गाउँकै ८८ घरधुरी मिलेर वर्षौपछि यो परम्परा पूरा गरिएको हो, ’उनले भने । अकालमा ज्यान गुमाएका मृतात्माको मुक्तिको लागि खली प्रथा गरिँदै आएको उनले जानकारी दिए । गाउँलेले गाउँबाटै झन्डै चार लाख ४४ हजार सहयोग संकलन गरेर यस परम्परालाई निरन्तरता दिएका हुन् ।

चमत्कार कि अन्धविश्वास ?अनार्य सभ्यताको एउटा तान्त्रिक प्रक्रिया मानिने खली प्रथा प्रेतात्माको मुक्तिको लागि गरिन्छ । तन्त्रमाध्यमबाट प्रेतआत्मा ‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ । दाउराको भारी आगोमाथि दौडाइँदा पैतालादेखि शरिरभर कुनै पोल्ने र चोट पट नलागेको देख्दा आफु अचम्मित भएको कक्षा ११ मा अध्ययनरत २४ वर्षीय साजन थापाले बताए । ‘त्यत्रो आगोमाथि दौडिए तर, पनि केही भएको छैन्, यसलाई चमत्कार मान्ने या अन्धविश्वास ?, ’उनले प्रश्न गरे । आफूमाथि सेतीदेवी चढेपछि आफै कम्पन छुटेको र अरुसँगै आगोमाथि दौडिएको उनले जनाए ।


प्रकाशित : पुस २४, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्