कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एकीकृत बस्ती : कतै बन्दै, कतै सर्दै 

विमल खतिवडा

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकमा भूकम्प प्रभावितकालागि एकीकृत बस्ती निर्माणको क्रममा छन् । गैरसरकारी संस्थामार्फत निर्माण भएका बस्तीमा निर्माण सकिएर प्रभावितहरु सरिसकेका छन् । जोखिममा रहेका ६ सय ५९ घर धुरीलाई एकीकृत बस्ती बनाएर सार्ने काम तिव्र पारिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार जिल्लामा १३ वटा बस्ती निर्माण गरिने छ । केहीको निर्माण सकिएको छ भने केही निर्माणको क्रममा छन् । अहिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ स्थित नोर्बुलिङमा ४० घर निर्माणको क्रममा छन् । स्थानीयहरु श्रमदानमार्फत घर निर्माणमा जुटेका छन् । कोही गारो लगाउन त कोही ढुंगा बोक्न व्यस्त देखिन्छन् ।

त्यस्तै मेलम्ची नगरपालिका–१२ स्थित थाक्लेका स्थानीय भने ल्होसारमा घर सर्ने तयारीमा छन् । यो ठाउँमा ३१ घरको निर्माण अन्तिम चरणमा पुगेको छ । रंगरोगन गर्न बाँकी रहेको थाक्ले एकीकृत नमुना बस्तीका कोषाध्यक्ष चेतबहादुर तामाङ बताउँछन् । 

यहाँका स्थानीयले सामुदायिक भवन निर्माणको माग गरेका छन् । कतै निला, कतै हरिया त कतै राता जस्ताले बस्ती सजिएका छन् । टाढाबाट हेर्दा सबैको ध्यान बस्तीले खिच्छ । तर बस्ती राम्रो भएपनि स्थनाीयले साँघुरो घरमा सबै परिवारका सदस्य नअटेको गुनासो गर्दै आएका छन् । कतै एक कोठे त कतै तीन कोठे घर निर्माण गरिएको छ । कतै भने चारकोठे भवन निर्माणको क्रममा छन् । उत्पादित अन्न राख्न नपाएको, अन्नबाली लगाउने जग्गा जमिन बस्तीमा नभएको गुनासो भूकम्प प्रभावितले गर्दै आएका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म ४३ वटा एकीकृत बस्ती निर्माणकालागि स्वीकृत भइसकेका छन् । सबै गरेर ७५ वटा एकीकृत बस्ती निर्माण गरिने छ । यी सबै बस्ती निर्माणमा ७५ अर्ब खर्च लाग्ने छ । अहिलेसम्म प्राधिकरणको सहयोग रहेको तीन वटा बस्ती मात्र निर्माण सम्पन्न भएको छ । सबैभन्दा बढी बस्ती सिन्धुपाल्चोकमा छ । 


प्रकाशित : पुस १७, २०७६ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्