कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

वनभोजमा व्यस्त चितवनका हात्ती (फोटो फिचर)

रमेशकुमार पौडेल

चितवन — सौराहामा चलिरहेको हात्ती महोत्सवमा बुधबार हात्तीहरुको ठुलो जमघट थियो । अरु बेला पर्यटकलाई बोकेर जंगल डुल्ने हात्तीहरु केही फुर्सदिला बने । अगाडी उनीहरुलाई मन पर्ने खान्की थियो । केही बेरपछि सबै हात्तीले त्यसलाई मिठो मान्दै खाए । महोत्सव आयोजकहरु यसलाई हात्ती वनभोज अर्थात पिकनिक भन्दै आएका छन् ।

हात्ती महोत्सव आयोजना हुन थालेको १६ वर्ष भयो । महोत्सवका बेला हात्तीका लागि पिकनिक राख्न थालेको पाँच वर्ष भएको छ । हात्तीलाई उखु, बन्दा निकै मनपर्छ । त्यसै गरी भेलीमा पकाएको भात हात्तीका लागि स्वादिष्ट खान्की हो । जसलाई हात्तीको खिर नै भनिन्छ । वनभोजमा यस्तै परिकारहरु थिए ।

‘चामलमा भेली र बिरे नुन राखेर पकाएको खान्की हात्तीले खुबै रुचाउँछ । पशु चिकित्सकसँग परामर्श गरेका थियौं यस्तो खान्की स्वादिलो मात्रै हैन हात्तीलाई पोषिलो र पचाउन सजिलो पनि हुँदो रहेछ’ हात्ती पिकनिकका संयोजक गोकर्ण गिरीले भने । हात्तीको स्वभाव र खानपान सर्वसाधरणले पनि थाहा पाउन यस्तो सार्वजनिक कार्यक्रम उपयुक्त भएको उनको भनाइ छ ।

एउटा हात्तीले दिनमा सरदर ५० देखि ६० किलो खानेकुरा खान्छ । अरु बेला हात्ती चर्नुका साथै हात्ती सञ्चालकहरुले पराल र घाँसमा बेरेर दिएको धान, भेली र चनाको पोको अर्थात् कुची खाने गर्दछन् । समय समयमा भेलीमा पकाएको भात पनि खान्छन् । सौराहामा पर्यटक बोक्ने ६५ निजी हात्ती छन् । त्यो बाहेक चितवन निकुञ्जको र राष्ट्रिय प्रकृति संरक्षण कोषकोसमेत गरेर सवा सय हात्ती सौराहामा छन् । हात्ती पिकनिकमा ८५ हात्ती सहभागि भए ।

प्रकाशित : पुस १६, २०७६ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्