कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दीक्षान्त समारोहको रौनक 

नमिता दाहाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह बिहीबार पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रांगण ललितपुरमा सम्पन्न भएको छ । ७० हजार ७७ जना विद्यार्थीहरु बिहीबार दीक्षित   भएका छन् । समारोहमा १० हजार १८३ जना विद्यार्थी सहभागी थिए ।कालो गाउन र टोपी लगाएकाहरु सबैको अनुहार चम्किएको थियो । १० हजारको भिडमा उपस्थित विद्यार्थीहरु आफ्नो जीवनको महत्वपूर्ण समयलाई फोटोको रुपमा कैद गर्न उत्सुक देखिन्थे । 

पुल्चोकको ठूलो मैदानको एक छेउमा दीक्षान्त समारोह हुँदै थियो भने अर्को छेउमा फोटो स्टुडियोको लाइन थियो । विद्यार्थीहरु फोटो खिचाउन लाइनमा बस्दै थिए । फोटोग्राफरहरु फोटो खिच्न र फोटो धुलाएर दिन आतुर देखिन्थे । 

मैदानको छेउमा रहेको एक स्टुडियोका फोटोग्राफर बसन्त जोशीलाई पनि विद्यार्थीहरुको फोटो खिच्न भ्याइनभ्याइ थियो । उनले भने, ‘आजको दिन मात्र यो स्टल राखेको हो । विद्यार्थीहरु आजको दिन जिन्दगीको अविस्मरणीय क्षण फोटो खिचाउने गर्दछन् । शुल्क भने फोटोको आकार हेरी फरक फरक हुन्छ ।’ फोटोको सुरु मूल्य ३ सय ७५ रुपैयाँ र २ हजार रुपैयाँसम्म थियो । 

फोटोग्राफरहरु साथमा प्रिन्टर राखेर बसेका थिए । ‘स्टल राख्दा आम्दानी पनि ठिकै तर खर्च पनि धेरै हुन्छ विशेषत प्रचारका लागी हामी यो गर्ने गर्छौं ।’, जोशीले थपे । 

यसै क्रममा फोटो खिचाउन स्टुडियो पुगेकी सपना बोहोराले भनिन्, ‘फोटोचाहिँ विशेषत सम्झनाकै लागि नै हो जीवनको अमूल्य पललाई फोटोको रुपमा कैद गरी राख्न फोटो खिचाउन लागेकी हुँ । इन्जिनियरीङमा मास्टर सकेकी सपना रहरैले फोटो खिचाउन लागेको थिइन् । उनले भनिन्, ‘फोटो हेरेर घर परिवारका मानिस पनि मुस्कुराउँछन् होला ।’ कोही आफै एक अर्काको फोटो खिचाउँदै थिए । कोही घुम्ती स्टुडियोमा पुगिरहेका थिए । मैदानमा धेरैजसो दीक्षितहरु सेल्फी लिन व्यस्त थिए । कोही दीक्षित भएको हर्षोल्लासमा टोपी हावामा उडाउँदै रमाइरहेका थिए । टिकटक बनाउनेहरुको भिड पनि हेर्न लायक थियो ।  


प्रकाशित : पुस ३, २०७६ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्