आहा ! सेताम्मे कालिञ्चोक [फोटोफिचर]

राजेन्द्र मानन्धर

दोलखा — उच्च पहाडका पर्यटकीय प्वइन्टहरु हिउँले सेताम्मे छ । कालिञ्चोक, शैलुङ र हनुमन्ते डाँडाहरुमा बाक्लो हिउँ थुप्रिएको छ । ती पर्यटकीय केन्द्रमा हिउँ खेल्नेहरुको लस्कर छ । दोलखा सदरमुकाम चरिकोट बास बसेका पर्यटकका गाडीहरु आइतबारदेखि नै कालिञ्चोकतिर लस्कर छुटेको छ । हिउँका कारण कालिञ्चोकसम्म गाडी पुग्दैन तर जहाँसम्म गाडी पुग्छ त्यहाँबाट चेनवाल गाडीमा उद्धार गर्ने गरेको होटल सुनपातीका प्रोपाइटर हरि वलीले बताए ।

तीन हजार आठसय ४२ मिटर अग्लो कालिञ्चोकमा दुई फिट हिउँ जमेको छ । स्थानीय होटल व्यवसायीले हिउँमा चल्नसक्ने गरी आफ्ना गाडीको टायरमा फालामको सिक्रीको बेरेका हुन्छन् । त्यसो गरेपछि हिउँमा गाडी फस्ने र चिप्लनेबाट जोगिन्छ । ‘आफ्नो पाहुँनालाई ठाउँठाउँबाट उद्धार गरेर ल्याइरहेका छौं,’ उनले भने, ‘ हिउँ पग्लने क्रममा रहेकाले सोमबारबाट पर्यटकहरु आफ्नै गाडीमा आउन सक्ने देखिन्छ ।’ कालिञ्चोक भगवतीको दर्शन र प्राकृतिक सुन्दरतासँग रमाउन कालिञ्चोकको गन्तव्य तय गरिन्छ । एकपटक हिउँ परेपछि उक्त स्थानमा कम्तीमा पनि १५ दिनसम्म रहने स्थानीयहरु बताउँछन् ।

रोल्वालिङ र लाङटाङ हिमश्रृङ्खलाबाट देखिने दृश्य, सूर्योदय र सूर्यास्तको मज्जा कालिञ्चोकको मुख्य आकर्षण हो । डाँडाहरु, घाँसे मैदान, जंगल, खोला र झरनाहरुका मनोरम दृश्यका साथमा थुप्रिएको हिउँ हेर्न वर्षेनि कालिञ्चोकमा पर्यटको चाप हुन्छ ।

चरिकोटबाट १७ किलोमिटर उत्तरतर्फ उकालिँदै जाँदा गैरीको जंगलबाट हिउँ भेटिन्छ । एकसय जति स्तरीय होटलहरु भएका कालिञ्चोकमा आवास र खानाको व्यवस्था छ । होटलहरु भएको कुरीबाट मन्दिरसम्म केवलकारको व्यवस्था भएकाले इच्छा नभएमा हिँड्न पर्दैन् । पर्यटकका लागि सहज होस् भनेर स्थानीयहरुको सक्रियतामा बाटो खोल्ने कार्य पनि भइरहेको छ ।

जिल्लाको पश्चिममा रहेको शैलुङडाँडा हिउँले पुरिएको छ । उक्त स्थानमा निर्मित टावरबाट सगरमाथासम्म देख्न सकिने भएकाले मानिसहरुको चाप बढेको स्थानीय होटल व्यवसायी गणेश श्रेष्ठ बताउँछन् । ढुँगे बजारमा रहेको होटलहरुमा बास बसेर पर्यटक उक्त स्थानमा पुग्ने गर्छन् । जिरी पुग्न पर्यटकका लागि हनुमन्ते नजिकको हिउँ खेल्ने प्वइन्ट हो । हुनमानका मन्दिर भएको उक्त स्थानमा मोटरबाट पुग्न सक्छन् ।

हिउँ परेपछि उपत्यकाबाट नजिकको पर्यटकीय गन्तव्य दोलखामा सडकका कारण पर्यटकलाई यात्रा गर्न अप्ठेरो परिरहेको गुनासो सुनिन्छ । जिल्ला जोड्ने लामोसाँघु जिरी सडक स्तरोन्नती हुँदैछ । पर्यटकीय प्वइन्टहरु जोड्ने सडक पनि अप्ठेरा छन् । सडकका लागि राज्यको वर्षेनि करोडौं खर्च भइरहे तापनि कालिञ्चोक, शैलुङ र हनुमन्ते जोड्ने सडक पनि सहज बन्न सकेको छैन ।

प्रकाशित : मंसिर २९, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्