३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चम्किलो रारा [फोटोफिचर]

राजबहादुर शाही

मुगु — जिल्लाको पर्यटकीय गन्तव्य रारा शनिबार बिहानैदेखि चाँदीझैं टल्किएको छ । शुक्रबार मध्याह्नदेखि हिउँले ढाकेको रारालाई शनिबार आकाश खुलेपछि चाँदीजस्तै चम्किलो देखिएको हो । घुम्न आएका पर्यटकहरु फोटो खिच्दै हिउँको डल्लोले हिर्काउँदै रमाएका छन् ।

पर्यटक मात्र नभएर राराका होटल व्यवसायी निकुञ्जका कर्मचारी, नेपाली सेनाका जवानहरु पनि हिउँमा रमाइरहेका छन् । चराहरु पनि भुरुभुरु हिउँमा उडेर आनन्द लिएका छन् । शनिबारको सूर्योदयसँगै हिउँले टल्किएको रारा हुटुस्थित डाँफे गेष्ट हाउसका मेनेजर बलीराज शाहीले सुनाए । मंसिर महिनामै हिउँले रारा चाँदीजस्तै चम्किएको उनको भनाइ छ ।

बीचमा निलो ताल र वारिपारि हिउँले ढाकेको सेताम्य दृश्यले मन लोभ्याएको पर्यटकको भनाइ छ । तालमा ढुंगा चढेर वारिपारिको हिउँ अवलोकन गर्दै पर्यटकले मज्जा लिइरहेका छन् । रारामा २ फिट हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका खरिदार महेन्द्र खड्काले बताए । हिउँले रुखहरु निहुरिएको जमिन कपासजस्तै सेताम्य बनेको छ ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा राराले पर्यटकलाई स्वागतको लागि सेतो कार्पेट बिछ्याउन सुरु गरेको भ्रमण वर्ष २०२० का कर्णाली प्रादेशिक सदस्य देवीकृष्ण रोकायाले बताए ।


प्रकाशित : मंसिर २८, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्