२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हिमपातले छोप्यो मनाङ

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा शुक्रबार बाक्लो हिमपात भएको छ । मंसिर १२ गते बस्तीमा पहिलोपटक हिउँ झरेको मनाङमा बुधबार साँझदेखि हिउँ पर्न थालेको थियो ।

बिहीबार रातीदेखिको हिमपातले मनाङको जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउापालिका १, माथिल्लो पिसाङका याङडुङ गुरुङका अनुसार हिमपातले बस्ती ढाकिएको छ । चक्रिय अन्नपूर्ण पदमार्गभरी हिउँ भरिएको छ । पर्यटक साथै स्थानीयको आवतजावत रोकिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार चक्रिय अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई यथास्थानमै रहन भनिएको छ । ‘हिउँ परिरहेको छ । पर्यटक हिँड्ने अवस्था छैन । कोही पर्यटक भने हिउँ खेलेका छन्’ उनले भने । 

डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङमा शुक्रबार मध्यदिनमा तापक्रम माइनस ६ डिग्री सेन्टीग्रेडमा झरेको छ । जनजीवन प्रभावित बनेको छ । मनाङस्थित सशस्त्र प्रहरीको ३२ नं. गुल्म चामेका डीएसपी रमेश भुवाजीका अनुसार बिहीबार रातीदेखिको हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपातको समय विपत् घट्न सक्ने भन्दै प्रहरीलाई तयारी अवस्थामा राखेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार मनाङ ङिस्याङ गाउापालिका, नार्पाभूमि गाउापालिका र चामे गाउँपालिकाका सबै बस्तीमा हिमपात भइरहेको छ । तल्लो क्षेत्र नासों गाउँपालिकाको दानाक्युसम्म हिमपात भइरहेको उनले बताए । दानक्यु २ हजार ३ सय मिटर उचाईमा छ । 

तस्बिरहरु सौजन्यः जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी गुल्म, जिल्ला प्रहरी कार्यालय


प्रकाशित : मंसिर २७, २०७६ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्