२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

घाम ताप्दै, सडकमा पढ्दै

हरि गौतम

रुकुम पूर्व — सिस्ने गाउँपालिका–८, झिमखोलास्थित बाल कल्याण आधारभुत विद्यालयले भवन हुँदाहुँदै विद्यार्थीलाई सडकमा पढाइरहेको छ । विद्यार्थीलाई चिसोबाट बचाउन सडकमा पढाउनु परेको प्रधानाध्यापक मनमती पुनले बताइन । विद्यालय भवन नजिक घाम नलाग्ने भएकाले विद्यार्थीलाई घाम आउने सडकमा ल्याएर पढाइरहेको पुनले बताइन् ।

‘न्याना कपडाको व्यवस्था नहुँदा विद्यार्थीलाई चिसोबाट बचाउन सडकमै विद्यार्थी ल्याएर पढाउन सुरु गरेका छौ,’ प्रधानाध्यापक पुनले भनिन, ‘तिहारको विदा लगत्तै लिखाडाँडा स्थित सडकमा सुरु गरिएको पठन पाठन जाडो बिदासम्म चल्छ । जाडो बिदापछि मात्रै विद्यालय भवनमा पढाउन सुरु गर्छौ ।’

अघिल्लो वर्ष पनि जाडो महिनामा सडकै पढाएको पुनले बताइन । त्यसअघि विद्यालय भवनदेखि पूर्वको जुरढुङ्गाको खुला चौरमै पठन–पाठन गराउने गरेको भएपछि सडक निर्माणका कारण अघिल्लो वर्षदेखि त्यहाँ पढाउन छाडिएको प्रअ पुनले बताइन् ।

सडकमा पढ्नका लगी विद्याथीहरुले घरबाटै चटै (ओछ्याउने) बोकेर जान्छन् । विहान ओछ्याउने बोकेर पढ्न जाने उनी बेलुका त्यही बोकेर घर फर्कन्छन् । कापी, किताबसहितको झोलाका साथमा बस्ने बोरा वा चटै बोक्नु विद्यार्थीका लागी अनिवार्यजस्तै बनेको छ ।

कक्षा १ देखि ५ सम्म पठन पाठन हुने विद्यालयमा १ सय ४ जना विद्यार्थी भर्ना भएका छन् । तर, दैनिक पठन पाठनमा भने ७० देखि ८० जना आउने प्रअ पुनले बताइन । चिसो स्थानमा भवन भएको पिडा मात्रै होइन विद्यालयले शिक्षकको समेत अभाव खेपिरहेको छ ।

यसअघि ५ जना शिक्षक कार्यरत विद्यालयमा अहिले ३ शिक्षक मात्रै छन् । गाउँपालिकाको अनुदान र राहत कोटाका शिक्षकले शिक्षक सेवा आयोगमा नाम निकालेपछि २ शिक्षक बाहिरिएका हुन ।


प्रकाशित : मंसिर २१, २०७६ १९:००
प्रतिक्रिया
पठाउनुहोस्