कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गढीमाईमा बलि तयारीका तस्बिरहरु

लक्ष्मी साह

बारा — गढीमाई मेलामा मंगलबार बिहानबाट राँगाको बलि दिन सुरु भएको छ । पशु अधिकारकर्मीको विरोध, उच्च अदालतको आदेश र सर्वोच्च अदालतको फैसलासमेत बेवास्ता गर्दै राँगाको बलि दिन सुरु गरिएको हो । कलैयाबाट १० किमि पूर्वमा पर्ने गढीमाई मन्दिर परिसरको छेउको दुई बिघामा रहेको बधशालामा गढीमाईको नाममा बलि दिने क्रम चलिरहेको छ । 

मन्दिरका मूल पुजारी मंगल चौधरीले बधशालाभित्र हुलिएका सबै राँगाको मंगलबार मार हानिने जानकारी दिए । भक्तजनले आफ्नो मनोकामना पूरा भएको विश्वासमा राँगा बलि दिने चलन छ । मेला समितिले मार हान्न ३ सयको हाराहारीमा व्यक्ति नियुक्त गरेको छ । बधशालामा सातादेखि ३ हजारको हाराहारीमा राँगा राखिएका थिए ।  राँगा बलि र गढीमाई मन्दिर परिसरमै रहेको ब्रम्हस्थानमा हुने पञ्च बलिलाई हेर्न भक्तजनको भीड लागेको छ ।

भारतको उत्तर प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, गोवा, उडिसा, पश्चिम बंगाललगायत स्थानबाट ठूलो संख्यामा भक्तजन मेला भर्न र गढीमाईमा भाकल पुरा गर्न आएका छन् । भीडलाई व्यवस्थापन गर्न मेला समिति र स्थानीय प्रशसनलाई समेत समस्या भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए ।

मेला व्यवस्थापन गर्न र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पर्सा, रौतहटलगायतका जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी मगाइएको उनले जानकारी दिए । मेलामा सुरक्षा व्यवस्थाका लागि ११ सय नेपाली प्रहरी र २ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

मेला व्यवस्थापन गर्न स्वयंसेवक र नगर प्रहरी परिचानलन गरिएको महागढीमाई उपमहानगरपालिकाका प्रमुख मेयर उपेन्द्रप्रसाद यादवले जानकारी दिए । बलि रोकिएको भन्दै विभिन्न माध्यमबाट भएको प्रचारका कारण मेलामा कम भक्तजन आउने अनुमान गरिए पनि सोमबारबाट अप्रत्याशित रुपले बढिरहेको मेयर यादवले बताए । 

मेलामा सहज रुपले दर्शन गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विकाशराज खनालले जानकारी दिए । 

प्रकाशित : मंसिर १७, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्

५७ हजार करको दायरामा

कान्तिपुर संवाददाता

तनहुँ — चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय दमौलीमा करिव ५७ हजार करदाता करको दायरामा आएका छन् । तनहुँ, लमजुङ, गोरखा र मनाङ कार्यक्षेत्र रहेको कार्यालयमा ५६ हजार ६ सय ७ करदाता पुगेका हुन् । 

व्यावसायिक लेखा नम्बरतर्फ ३१ हजार २ सय ८०, मूल्य अभिवृद्धि करतर्फ ३ हजार ३ सय ३६ र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ १८ हजार ९ सय २७ र अन्य गरी करदाता करको दायरामा आएका कार्यालय प्रमुख सूर्यप्रसाद सेढाइँले बताए । गत आव ०७५/७६ सम्ममा व्यावसायिक लेखा नम्बर लिनेको संख्या २५ हजार ३ सय ४६ रहेको थियो भने मूल्य अभिवृद्धि करतर्फ २ हजार ७ सय ४, व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ७ हजार ३८ र अन्य गरी ३७ हजार ३ सय ४४ करदाता रहेका थिए । उनले भने, ‘सरकारले चालु आवदेखि स्थायी लेखा नम्बर (पान) अनिवार्य गरेपछि करको दायरामा आउनेको संख्या बढेको हो ।’

गत आव ०७५/७६ मा ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको कार्यालयले ५ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आव ०७६/७७ मा ८ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै, आन्तरिक राजस्व कार्यालय दमौलीमा आठौं राष्ट्रिय कर दिवसको अवसरमा जिल्लामा सप्ताहव्यापी कार्यक्रम भएको छ । कर दिवसको अवसरमा कार्यक्षेत्र रहेका ४ जिल्लाका व्यवसायीलाई करदाता शिक्षा
तथा अन्तरक्रिया, उत्कृष्ट करदातालाई सम्मानलगायत कार्यक्रम गरी मनाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७६ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×