१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पशुपतिमा शतबीज छर्नेको घुइँचो [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन सोमबार बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न सुरु गरेका हुन् । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।

हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १०० गेडा छर्ने विधि भएपनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको हो भन्ने मान्यतासमेत छ । शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासका आधारमा पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ ।


प्रकाशित : मंसिर ९, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्