विद्यार्थीले लगाए पूर्वी नाकामा मोदी विरुद्ध नारा  

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतसँग सिमाना जोडिएको पूर्वी नाकास्थित मेची पुलमा झापाका विद्यार्थीहरुले भारतीय प्र्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध चर्का नाराबाजी गरेका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विरोधमा नेपाल विद्यार्थी संघ झापाको आयोजनामा मंगलबार बिहान विरोध प्रदर्शन गरिएको हो । 

स्थानीय हनुमान मन्दिरबाट शुरु भएको र्‍याली बजार परिक्रमा गरी नेपाल–भारत जोड्ने मेची पुलमा कोणसभामा परिणत भएको थियो । विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री मोदीसँगै ओली सरकारको विरुद्ध समेत नाराबाजी गरेका थिए । झापाका दर्जन वढी क्याम्पसका सयौ विद्यार्थी सहभागी र्‍याली तथा कोणसभालाई अध्यक्ष राजेन्द्र उप्रेती र प्रवक्ता सन्जय निरौलाले सम्बोधन गरेका थिए । विद्यार्थी नेताहरुले नेपाली भुभाग फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे । 

प्रकाशित : कार्तिक २६, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्

धमाधम खाद्यान्न उद्योग खुल्दै

अमृता अनमोल

(बुटवल) — रूपन्देहीमा खाद्यान्न उद्योग खुल्ने क्रम बढेको छ । आयातका कारणले कुनै बेला बन्द हुन पुगेका उद्योग अहिले उत्पादनको शैली र स्वाद फेरेर स्थापना हुन लागेका हुन् । 

भैरहवाको चर्चित व्यापारिक घराना एसआर ग्रुपले केही समयअघि ओमसतिया गाउँपालिकाको पड्सरीमा एसआर फुड्स उद्योग सुरु गर्‍यो । यहाँ पूर्ण स्वचालित मेसिनबाट जर्मनी पद्धतिअनुसार मैदा, आटा, सुजी, चक्की आटा र चोक्कर उत्पादन हुन्छ ।

उद्योगको दैनिक दुई सय टन उत्पादन क्षमता छ । यहाँ उत्पादित बस्तु हेटौंडा, काठमाडौं, पोखरा, दाङलगायत क्षेत्रमा पुग्छ । ‘उत्पादन गर्न सके बिक्रीको समस्या छैन,’ उद्योगका प्रबन्ध निर्देशक सुरज उप्रेतीले भने, ‘गुणस्तरीय खाद्यान्न उपभोग गर्ने उपभोक्ता बढेसँगै हाम्रो उत्पादनको माग पनि बढेको छ ।’ उनका भनाइमा उद्योगमा एक सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बुटवलको कालिकानगरमा हाइलाइफ फुड्स खुलेको छ । व्यापारिक घराना सत्यसाई ग्रुपले भर्खरै यस खाद्य उद्योगलाई सञ्चालनमा ल्याएको हो । यहाँ ओड्स, कर्न फ्लेक्स, सुपर चिउरा, पुलाउ चिउरा, चोको फ्लेक्स, सोयाबिन मस्यौरालगायत उत्पादन हुन्छ । प्रबन्ध निर्देशक प्रशान्त घिमिरे आफ्ना उत्पादन देशभर पुगेको बताउँछन् । उनका अनुसार देशभर उत्पादन पुर्‍याउन सहज हुने भएकाले मध्यभागमा उद्योग खोलिएको हो । यसबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

खाजामा चाउचाउ, बिस्कुट र कुकिजको प्रयोग गर्ने नेपाली बढेका छन् । यससँगै रूपन्देहीमा त्यस्ता उद्योगसमेत बढेका छन् । दुई वर्षयता बुटवलका चर्चित पाँच उद्योगीले सिद्धी विनायक फुड्स सञ्चालन गरेका छन् । यहाँ गज्जबको चाउचाउ, बिस्कुट र मिस्टर ह्याप्पी कुकिज उत्पादन हुन्छ । यसबाट दैनिक ६ सयले प्रत्यक्ष रोजगारी पाएका छन् । बाहिरी देशमा पठाउने लक्ष्य लिएको चाउचाउ भारत निर्यात हुन थालिसकेको छ । अब साबुन उद्योग पनि चलाउने योजना छ । ‘गुणस्तरमा सम्झौता गरेका छैनौं,’ सञ्चालक उज्ज्वलप्रसाद कसजूले भने, ‘बजारका लागि पनि समस्या भोग्नु परेको छैन ।’

यहाँ खुलेको अर्को चाउचाउ कम्पनीले देशभर बजार विस्तार गरेको छ । यशोदा फुड्सका लाली, जुप्पो, करेन्ट चाउचाउ देशभर पुगेका हुन् । उद्योगी कमल मालपानी, चुन्नप्रसाद पौडेल, ऋषि पौडेललगायतको लगानीमा रूपन्देहीमा पाँचवटा ठूला उद्योग सञ्चालनमा छन् । त्यसमध्ये एक यशोदा फुड्स हो । तीन वर्षअघि खुलेको फुड्सले एक सिफ्टमा १० टन चाउचाउ उत्पादन गर्छ । सञ्चालक चुन्नप्रसादले देशभित्र मात्र नभई बाहिरी मुलुकमा निर्यातको योजना बनाएको बताए । ‘तयारी खाजाको माग र खपत बढ्दै गएको देखेर उद्योग सञ्चालन गरेका हौं,’ उनले भने, ‘अपेक्षा गरेभन्दा राम्रो बजार विस्तार गरेका छौं ।’ तीव्र औद्योगीकरण भएको रूपन्देहीमा ठूला उद्योग खुल्ने क्रम बढेको छ । यही भेलमा खाद्य उद्योगसमेत खुल्ने र विस्तार हुने क्रम बढेको हो । स्वदेशी कच्चा पदार्थले धान्न सके खाद्य उद्योगमा राम्रो आम्दानी छ । भारत तथा तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याउन सहज नाका र छोटो दूरी छ । यसले उत्पादन लागत कम हुन्छ ।

यसले पनि उद्योग खुल्ने क्रम बढ्दो छ । स्थानीय स्तरमा ठूला होटल तथा रेस्टुराँ बढ्दै गएका छन् । तिनमा फरक खानाका परिकारको माग बढेको छ । यही मागलाई पछ्याउँदै उद्योगीहरूले फरक शैली र स्वादका खानाका परिकार उत्पादन गरेका हुन् । तयारी खाजा र तिनमा प्रयोग हुने सामग्रीलाई समेत बढाएका छन् । चौधरी फुड्स र पाठक दालमोठ जिल्लाका पुराना खाद्य परिकार उत्पादक उद्योग हुन् । तिलोत्तमामा सञ्चालित पाठक दालमोठले दालमोठ, पापडसँगै थरीथरीका नमकिनसमेत बनाउन थालेको छ । होटल तथा रेस्टुराँको मागलाई मध्यनजर गरी उत्पादनलाई परिवर्तन गरेको सञ्चालक तेजप्रसाद पाठकले बताए । चौधरी फुड्सले पनि उत्पादनमा परिमार्जन गरेको छ ।

पछिल्लो समय यहाँ कुकिज र पाउरोटी उद्योगसमेत बढेका छन् । धेरैमा विदेशी प्रविधि प्रयोग भएका छन् । ‘पछिल्लो समय खाद्य उद्योग र उत्पादन बढेका छन्,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्षसमेत रहेका पाठकले भने, ‘अन्यत्रभन्दा यहाँका उत्पादनमा गुणस्तर र पौष्टिकतालाई ख्याल गरिएको छ ।’ घरेलु तथा साना उद्योग रूपन्देहीमा ३ सय ५० खाद्यान्न उद्योग सूचीकृत छन् । यसबाहेक ठूलो लगानीका २१ वटा उद्योग विभागमा दर्ता छन् । धेरै रकम लगानी भएका खाद्य उद्योगमा चाउचाउ, बिस्कुट, दाल, तेल र मैदा छन् । ‘उत्पादन, उपभोग र वितरण दुवै हिसाबले रूपन्देही उद्योग स्थापनाका लागि उर्वर भूमि बनेको छ,’ रूपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारीले भने, ‘यसर्थ, थरीथरीका खाद्यान्नदेखि उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगसमेत बढेका हुन् ।’

प्रकाशित : कार्तिक २६, २०७६ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×