२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

तलाउमा छठको चहलपहल [तस्बिरहरु]

सन्तोष सिंह

(जनकपुर) — जनकपुरमा छठको प्रसादले पोखरी, तलाउ सजिएको छ । शनिबार बिहानैदेखि ब्रतालुहरु छठको अर्घ दिइने परिकार र पूजा सामग्री खाली खुट्ट बोकेर छठ घाटमा ल्याइएको छ । शनिबार साँझ दिइने अर्घका लागि बिहानैदेखि तयारी थालिएको छ ।जनकपुरको गंगासागर, धनुषसागर, अरगजा पोखरी, दशरथ तलाउ, अग्निकुण्डा लगायत दर्जनौं पोखरीमा शनिबार बिहानैदेखि भीड छ । छठ पूजा गर्न एक दुई दिन अगावै पूजा समितिलाई शुल्क बुझाएर रसिद लिएका ब्रतालुहरु पोखरीको आकर्षक स्थान सुनिश्चित गर्न बिहानै घाटमा पुगेको हो । जनकपुरमा छठ हेर्न बाहृय पर्यटकको भीड लागेको छ । यहाँको होटलहरु पर्यटकले भरेको छ ।

चार दिवसीय छठअर्न्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ । आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन हुने छ । छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नुपर्छ । पर्वमा ढिकी–जाातोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान्न परिकार, माटोको भाँडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरुले सूर्यलाई अर्घ दिने प्रचलन छ ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ । मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको छठका लागि नदी, तलाउ र कुण्डसहितका जलाशयहरु मनमोहक ढङ्गले सिङ्गारिएको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्