१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तस्बिरमा हेरौं, उत्तरी सीमाको विकास

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले भूकम्पपछि चीनतर्फको रसुवागढी नाका र केरुङमा भौतिक पूर्वाधारको विकास गरेको छ ।

नाकाभन्दा पारिपट्टि चिनियाँ भू-भागमा आधुनिक भवन बनेको छ । अध्यागमन र भन्सारका भवनहरूमा आधुनिक उपकरण जडान भएका छन् । नाकाबाट केरुङ बजारसम्म पुग्न दुई लेनको चिल्लो कालोपत्रे सडक निर्माण गरेको छ । केरुङसम्म पुग्ने सडकमा पहिरो छल्नका लागि ठाउँ ठाउँमा सुरुङ र आकाशे पुल हालिएको छ । सडक भित्ताबाट झर्ने ढुङ्गा रोक्नको लागि तारजाली लगाइएको छ ।

यस नाकालाई चीन सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गरिरहेको छ । त्यसैले आफ्नो भूभागतर्फ तीव्र रूपमा भौतिक विकास गरिरहेको छ ।रसुवागढी नाकाबाट व्यापारिक कारोबार बढे पनि नेपालतर्फ सीमामा भौतिक पूर्वधारको अवस्था नाजुक छ । पानी पर्दा पहिरो, घाम लाग्दा धूलो उड्छ । हावा चल्दा माथिबाट ढुंगा खस्छ । नाकामा प्रहरीले टहराबाट सुरक्षा जाँच गर्ने गरेका छन् ।

केरुङ भूकम्प अघिसम्म सामान्य बजार मात्र थियो । अहिले निकै अग्ला–अग्ला आधुनिक घरहरु निर्माण भएका छन् । सरकारी कार्यालय थपिएका छन् । सामान गोदाम गर्नको लागि ठूला–ठूला ड्राइर्पोट निर्माण भइरहेको छ । सडक सफा राख्नुको साथै जेब्रा क्रस ट्राफिक लाइट राखिएको छ । सुविधा सम्पन्न होटलहरु निर्माण भएका छन् भने हुनेक्रम जारी छ । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर छ ।


प्रकाशित : कार्तिक १५, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्