कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

भीर मौरीको सिकार (तस्बिरहरु)

डम्बरसिं राई

खोटाङ — तिहारलगत्तै जिल्लाको उत्तरी कोपिलागढी गाउँपालिकामा भीर मौरीको मह सिकार सुरु हुन्छ । वडा नम्बर १ फेदी र ७ सुंदेलमा भीर मौरीको मह निकाल्नेहरुको घुइँचो लाग्छ ।

यहाँका भीरहरुमा भीरमौरीले लगाएको खुँदो निकाल्न स्थानीय मात्र होइन अन्य ठाउँबाट मनोरञ्जन गर्न आउँछन् । स्थानीय भूपेन्द्र कोयी राईका अनुसार सुङ्देलको देविखर्क, दयालु हुबमा लगायतका सामुदायिक वन क्षेत्रमा पर्ने धुरुखाम, ङजपु, पालाप्चु लगायतका दुई दर्जन बढी भीरहरूमा भीर मौरीले मह लगाएको सुनाए । केपिलासगढी गाउँपालिका–१ फेदीका विभिन्न सामुदायिक वनमा पर्ने भीरहरुमा पनि प्रशस्त भिर मौरीका मह पाइन्छन् ।

फेदीस्थित छिमालुङ सामुदायिक वन क्षेत्रको महभीर, फलाटे, आभर, भस्मेतिम्माली, जरमहभिर, खोलाखर्क, कुइरेछाँगामहभीर लगायतका भीरमा भीर मौरी बस्ने गरेका छन् । भीर मौरीले जडिबुटीबाट मह बनाउने भएकाले औषधीको रुपमा सेवन गरिन्छ ।

डोरीको भर्‍याङ मार्फत भरमा पसेर मह निकालिन्छ । डोरीकै सहारामा बाँसको थुम्से वा भुनेमा मह थापिन्छ । मह भरिएपछि डोरीकै सहारामा भुँइमा झारिन्छ । मह निकाल्न मुख्य सिकारी बाहेक अन्य १० जना सहयोगी आवश्यकता पर्छ । वर्षमा दुई पटक (मंसिर–पुस र बैशाख–जेठमा) मह निकाल्ने गरिन्छ । यसमध्ये बैशाख–जेठको महले मात लाग्ने भएकाले त्यतिबेलाको मह बढी औषधिय गुण भएको मानिन्छ । त्यतिखेर जडिबुटी फुल्ने समय भएकाले त्यसबाट बनेको मह औषधिय गुणले भरिपूर्ण भएको सुङ्देलका भूपेन्द्र कोयीको भनाई छ ।

केपिलासगढी गाउँपालिकाले भीरमाहुरी सिकार पर्यटन प्रवर्द्धनको योजना बनाएको अध्यक्ष कृष्णकुमार राईले बताए । उनका अनुसार मुन्धुम् ट्रेलसँग यसको सम्बन्ध विस्तार गरेर पर्यटन प्रवर्द्धनको योजना बनाइएको हो । अध्यक्ष राईले भीर मौरी सिकार भ्रमण वर्ष २०२० लाई जोड्ने लक्ष्य लिइएको बताए ।


प्रकाशित : कार्तिक ९, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्