१२ तस्बिरमा हेर्नुहोस्, दशरथ रंगशाला पुनर्निर्माण

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मुख्य खेलस्थल (उद्घाटन/समापन) को रूपमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई प्रयोग गर्ने तयारी छ । साग तयारीका लागि अब थोरै दिनमात्र छ । मंसिर १५ देखि २४ सम्म सागको मिति तय छ । त्यसअघि मंसिर ३ गते विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतसँगको खेल सोही रंगशालामा खेलाउनुपर्नेछ ।

भूकम्पपछि पुनर्निर्माण चरणमा रहेको दशरथ रंगशाला निर्धारित समयसम्म तयार हुनेमा अझै विश्वस्त हुन सकिएको छैन । अन्य कामहरू लगभग अन्तिम चरणमा पुगिसकेको छ । अबको मुख्य चिन्ता निर्माणाधीन भीआईपी प्यारापिटतर्फको छ । पश्चिमतर्फ अवस्थित करिब ३ हजार दर्शक क्षमताको भीआईपी प्यारापिटको ‘सिमेन्टेड’ छानो २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले जीर्ण बनाएपछि दशरथ रंगशाला बन्द छ ।

राष्ट्रिय खेलकुद परिषद्ले भीआईपी प्यारापिटका लागि अत्याधुनिक फ्याब्रिक प्रणाली प्रयोग गर्दैछ । यही फ्याब्रिक छानो मंसिर ३ गते अगाडि नै दशरथ रंगशालामा फिट गर्न सकिनेमा शंका छ । किनभने चीनबाट आउनुपर्ने यो छानो अहिलेसम्म नेपाल आइपुगेको छैन । परिषद् सदस्य–सचिव रमेशकुमार सिलवालले असोज १४ मा विश्वकप छनोटअन्तर्गत अस्ट्रेलिया जान लागेको राष्ट्रिय फुटबल टोलीको बिदाइका बेला भनेका थिए, ‘रंगशालाकै समस्याले तपाईहरूले सुरुका चारै खेल अवे खेल्नुपर्‍यो । मंसिर ३ मा कुवेतसँग हुने खेल त्रिपाल टाँगेरै भए पनि दशरथ रंगशालामा खेलाउँछु ।’

राखेपका प्रमुख इन्जिनियर अरुण उपाध्यायका अनुसार फ्याब्रिकबाहेक चीनबाट आउनुपर्ने कुर्सी नेपाली भन्सारमा आइसकेको छ । भारतबाट फलामे पोलहरू आइसकेको छ, त्यसलाई ‘फ्रेम’ बनाउने काम भइरहेको छ । ‘अबको दुई सातामा हामीले प्यारापिटमाथि फलामका फ्रेम जोडिसक्नेछौं, फ्र्याब्रिक आएपछि सागअगावै सम्पन्न गर्नेगरी काम भइरहेको छ,’ उनले थपे, ‘हामीले मंसिर ३ को मितिका लागि रंगशाला तयार गर्नुपर्छ भनेर ठेकेदारलाई दबाब दिएका छैनौं ।’


प्रकाशित : कार्तिक ५, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्