राष्ट्रपति भण्डारी चारदिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान (तस्बिरहरु)

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमारको चारदिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन् ।

प्रकाशित : आश्विन २९, २०७६ ११:०४

म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उनले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँका पनि भ्रमण गर्नेछिन् ।

राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जानेछिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुनेछिन् । घुमघामपछि भण्डारी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाल र म्यानमारबीच सन् १९६० देखि कूटनीतिक सम्बन्धको सुरुआत भएको हो । परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौडेलका अनुसार राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण दुई मुलुकबीच इतिहासदेखि चल्दै आएको सम्बन्धलाई थप बलियो बनाउनका लागि हुन लागेको हो ।

गत वर्ष म्यानमारका राष्ट्रपति मिन्टले नेपाल भ्रमण गरेका थिए । ‘दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन कूटनीतिक रूपमा यस्तो उच्चस्तरीय भ्रमण भइरहेका हुन्छन्, हाम्रो यसपटकको भ्रमणलाई पनि त्यसको एउटा भागका रूपमा लिन सकिन्छ,’ पौडेलले भने ।

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हनुमानढोकामा भित्र्याइयो फूलपाती [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा फूलपाती भित्र्याइएको छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याइयो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो । शनिबार बिहान गोरखा दरबारले पठाएको फूलपाती हनुमानढोका दरबारस्थति दसैंघरमा भित्र्याइएको छ । गोरखा दरबारबाट फूलपातीसहितको डोली शनिबार काठमाडौंस्थित हनुमानढोका पठाइएको थियो । बाजागाजासहित डोलीमा राखेर ल्याइएको फूलपाती सतीपीपलबाट बा२०च ४३९४ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती भित्र्याउने प्रचलन सुरु भएको थियो ।नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तीका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा गौतमले जानकारी दिए ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गेपिङ र रोटेपिङले दसैंको रौनकतालाई अझ बढाउने गर्दछ । दसैं मनाउन राजधानीमा विभिन्न पेशा र व्यवसायमा संलग्न भई बस्दै आएका धेरै मानिस आफ्नो थातथलो फर्किएका छन् । उपत्यका सुनसान देखिन थालेको छ । सडकमा कमै सवारी गुडेका छन् । कतै जान निस्किएका यात्रु सवारी नपाएको भनी गुनासो गरेका छन् ।


प्रकाशित : आश्विन १८, २०७६ १९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT