२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जाडो छल्न भारत झर्दै ‘कर्‍याङकुरुङ’ [फोटोफिचर]

हरिहरसिंह राठौर

जाजरकोट — जाडो बढेपछि साइबेरियाबाट सारस प्रजातीको ‘कर्‍याङकुरुङ’ नेपाल हुँदै भारत प्रवेश गरेका छन् । ‘कर्‍याङकुरुङ’ भारतको राजस्थानको केचन गाउँ र गुजरातको किच गाउँ सिमसार क्षेत्रमा जाडो मौसम बिताउँछ । भारत प्रवेश गर्ने क्रममा मौसम खराब भए अपरमुस्ताङ, कालीगण्डकी र भेरी करिडोरमा बास बस्ने गरेको चराविद् कृष्ण भूसाल बताउँछन् ।

असोज १२ गतेदेखि पन्छीविद् मित्र पाण्डे र हिरुलाल डंगौराको नेतृत्वमा माथिल्लो मुस्ताङमा अध्ययन टोली बसेको छ । उक्त टोलीले साइबेरियाबाट उडेर नेपाल हुँदै भारत जाने यी चराहरुको एक महिने गणना गर्ने नेपाल पन्छी संरक्षण संघ (विसिएन)ले जनाएको छ । यो प्रजातीको सारस विश्वमा साढे २ लाख रहेको अनुमान छ । मध्याह्नदेखि अपरमुस्ताङमा वेगले हावा चल्ने भएकोले रुस र मंगोलियाबाट उडेका चराहरु उक्त समयभित्रै अपरमुस्ताङ कट्नु पर्ने हुन्छ । असोज २० गते ११ बजे ठूला ६ समूह मुस्ताङ हुँदै भेरी नदी करिडोर हुँदै भारत पसे । कालीगण्डकी करिडोरमा मौसम बिग्रिएपछि माथिल्लो डोल्पा हुँदै भेरी करिडोर पसेको विसिएनका निर्देशक कृष्ण भुसालले बताए । साइबेरियाबाट ‘कर्‍याङकुरुङ’ भित्रिने मुख्य आकाशमार्ग कालीगण्डकी नै हो । त्यसपछि ठूलोभेरी र कर्णाली नदी । अध्ययनकर्ता पाण्डेका अनुसार मंगोलिया, चीनको तिब्बत हुँदै माथिल्लो मुस्ताङ र कालिगण्डकी उपत्यकामा समूहमा भित्रिने ‘कर्‍याङकुरुङ’ मौसम बिग्रेको बेला मात्रै नेपालका नदी किनारहरुमा बास बस्थे र अर्को दिन भारतको गुजरात र राजस्थानतिर लाग्थे ।संकटापन्न अवस्थामा नभए पनि यो चराको अहिलेसम्म विस्तृत अध्ययन भएको छैन । ‘बीसिएनले गत २०७३ साल देखि सुरु गरेको ५ वर्षे अध्ययन पूरा हुँदैछ’ विसिएनका प्रमुख कार्यकारी अधिकृत भुसालले भने । जाडो सुरु हुनुअघि मंगोलियादेखि उड्न सुरु गर्ने ‘कर्‍याङकुरुङ’ चीन, तिब्बत, माथिल्लो मुस्ताङ, धौलागिरि तथा निलगिरि हुँदै राजस्थानको किचनगाउँ र गुजरातको किच जाने गरेको छ । भारतका किसानहरुले ‘कर्‍याङकुरुङ’लाई औधी माया गर्छन् । ‘वर्षातमा बच्चा हुर्काएर जाडो छल्न बथानका बथान ‘कर्‍याङकुरुङ’ राजस्थान र गुजरात जान्छन्’ भुसालले भने, ‘बच्चा कोरल्न भने आफ्नै बासस्थान फर्कन्छन् । असोज–कात्तिक (सेप्टेम्बर-अक्टोम्बर) जाडो छल्न बसाइँ सर्ने ती प्रजातिका सारस काजकिस्तान, अफगानिस्तान हुँदैँ वैशाख–जेठ (अप्रिल–मे) मा फेरि मंगोलिया, रुसतिर फर्कन्छन् । ठूलो समूहमा फर्कंदैन । ‘कर्‍याङकुरुङ’अफ्रिका, टर्कीको एटलास माउन्टेन, काजकिस्तान, चीन, रुसमा पाइन्छ ।दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्वारा संरक्षित पन्छी सारस विश्वकै सबैभन्दा उचाई ७ हजार ९ सय मिटरसम्म उड्न सक्छ ।

प्रकाशित : आश्विन २४, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्