१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विजयादशमीको दिन ब्रम्हायणी मन्दिरमा बिहानै भीड

तस्बिर : अंगद ढकाल

भक्तपुर — विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै आजको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । 

ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ । 

गठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय् अर्थात् राँगोलाई नवदुर्गा मन्दिरबाट जाँड खुवाई मत्ताएर लखेट्दै ब्रम्हायणी मन्दिर पुर्‍याएर बध गरेपछि रातिदेखि नै यो मेला सुरु हुने गर्दछ । 

मंगलबारदेखि व्रत बसेका बिहान ३ बजेदेखि नै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा चिताएको पूरा हुने र पाप नष्ट हुने जनविश्वास रहेको छ ।

प्रकाशित : आश्विन २२, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्