१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बेंसीसहरको दसैं सुनसान (फोटोफिचर)

शब्द/तस्बिर : आश गुरुङ

(लमजुङ) — सप्तामी अर्थात फूलपातीको दिनसम्म बेंसीसहर बजारमा निकै चहलपहल थियो । सडकमा मानिसको हुलका हुल हिन्थे । सवै पसल खुल्थे । महाअष्टमी हुँदै नवमीको दिन दिउँसै बेंसीसहर बजारमा सन्नाट छाएको छ । कुनै राजनीतिक दलले बन्दको आहृवान गरेजस्तो बेंसीसहरको बजार भएको छ । सटर खुलेका छैनन् । नीजि तथा सार्वजनिक सवारी साधन चलेका छैनन् । साविकको तुलानामा कम चलेका छन् । केही पर्यटक गाडीबाहेक अन्य सवारी साधनको गुडाई निकै कम छ । मानिस पनि धेरै हिँडेका छैनन् ।

‘कुनै एउटा सामान किन्नुपरेमा पनि बजार पुरै चहानुपर्ने अवस्था छ । सवै पसल बन्द छ,’ भारतीय सेनाबाट दसैं मनाउन आएका बेंसीसहर ७, हाइस्कुल चोकका श्याम रिमालले भने, ‘फोन गरी गरी साथीभाइ भेट गर्नुपर्ने अवस्था छ । बजारमा कोही छैन ।’ उनले दसैं मनाउन गाउँ गएकाले बजार सुनसान भएको बताए । बेंसीसहर नगरपालिका ८, शेरा ओरालोका बालकृष्ण वाग्लेले सहरबजार यतिबेला उराठ लाग्दो बताए । ‘हामी दसैं मनाएका छौं । घरभित्रै बसेका छौं । अत्यावश्यक कामबाहेक बाहिर निस्केका छैनौं । गाउँबाट झरेकाहरु दसैं मनाउन गाउँ फर्केका छन् । दसैंको बेला अहिले यो बजार निकै उराठ लाग्दो छ’ उनले भने । सहरबजारको रमाइलो दसैंको बेला गाउँतिर सरेको उनले बताए । ‘के बालबालिका, के बृद्धबृद्धा सवै गाउँ गएका छन् । यहाँ त हामी हिजैदेखि आएर बसेका मात्रै’ उनले भने ।

अहिले बिदेशिएका युवा घर फर्केका छन् । धेरैका घर गाउँमै छ । बेंसीसहर बजार धेरै पुरानो नभएकाले पनि यहाँका धेरैजना दसैं मनाउन गाउँ जाने गर्छन् । २०२८ सालमा कुन्छाबाट सदरमुकाम सरेपछि यहाँ स्थायी र अस्थायी रुपमा बसाइँसराई गर्ने क्रम बढ्दो छ । बेसीशहर गाविस (अहिले नगरपालिका) का पूर्व अध्यक्ष एवं हाल बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार नगरपालिकाको ७ र ८ को पुरै र ९ को अधिकांश ठाउँ बेंसीसहरमा पर्छ । सहरको जनसंख्यामात्रै १० हजार बढी रहेको अनुमान छ । यसमा २० देखि ३० प्रतिशतमात्रै गाउँ गएको हुनसक्ने उनले अनुमान गरे । ‘दसैंको बेला सवै घरभित्रै बसेर रमाइलो गरेका हुन सक्छन् । बसाइँ सरेर आएका र डेरमा बस्नेहरु प्रायः गाउँ फर्केका छन् । त्यसैले सुनसान देखिएको हो । केही दिनमै भरिभराउ भैहाल्छ,’ उनले भने ।

अहिले सरकारी तथा गैरसरकारी कार्यालय बन्द छन् । विद्यालय बन्द भएपछि छोराछोरीलाई लिएर धेरै मानिसहरु गाउँमा गएका छन् । अहिले बेंसीसहर नगरपालिकाभित्र पर्ने लमजुङ कालिका मन्दिरमा दिनहुँ पूजा भइरहेको छ । केही भक्तजनहरु मन्दिरमा जम्मा भएका छन् । धेरैले नवमीका दिन घरघरमा पूजा गरि बली पनि दिइएको छ । तर, पनि बजारमा रौनक छैन । बजारमा पिङ पनि राखिएको छैन । सार्वजनिक सवारी साधनका टिकट काउन्टर पनि बन्द छन् । मानिसहरु खुट्टैले गन्तब्यमा पुग्ने प्रयास गरिरहेका छन् । सवारी साधन भएपनि गन्तव्यमा पुग्ने यात्रु छैनन् । बजारमा खडखडे (झण्डीबुर्जा) खेल्ने बालबालिका केही देख्न पाइन्छ । प्रहरीले ठाउँठाउँमा गस्ती परिचालन गरेको डीएसपी रबिन्द्रमान गुरुङले बताए ।

प्रकाशित : आश्विन २०, २०७६ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्