हनुमानढोकामा भित्र्याइयो फूलपाती [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा फूलपाती भित्र्याइएको छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रुपमा नौथरि फूल भित्र्याइयो ।


प्रकाशित : आश्विन १८, २०७६ १९:३२

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो । शनिबार बिहान गोरखा दरबारले पठाएको फूलपाती हनुमानढोका दरबारस्थति दसैंघरमा भित्र्याइएको छ । गोरखा दरबारबाट फूलपातीसहितको डोली शनिबार काठमाडौंस्थित हनुमानढोका पठाइएको थियो । बाजागाजासहित डोलीमा राखेर ल्याइएको फूलपाती सतीपीपलबाट बा२०च ४३९४ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती भित्र्याउने प्रचलन सुरु भएको थियो ।नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तीका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा गौतमले जानकारी दिए ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गेपिङ र रोटेपिङले दसैंको रौनकतालाई अझ बढाउने गर्दछ । दसैं मनाउन राजधानीमा विभिन्न पेशा र व्यवसायमा संलग्न भई बस्दै आएका धेरै मानिस आफ्नो थातथलो फर्किएका छन् । उपत्यका सुनसान देखिन थालेको छ । सडकमा कमै सवारी गुडेका छन् । कतै जान निस्किएका यात्रु सवारी नपाएको भनी गुनासो गरेका छन् ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जाजरकोट दरबारमा फूलपाती भित्र्याइयो

भीमबहादुर सिंह

(जाजरकोट) — दसैंको सातौं दिन सप्तमीमा शनिबार बिहान जाजरकोटको ऐतिहासिक दरबारमा फूलपाती भित्र्याइएको छ । परम्परागत राजकीय शक्तिको प्रतिक खडगदेवी देवतासहित जाजरकोट दरबारमा फूलपाती भित्र्याएको  हो । त्यस्तैगरी जिल्लाका दर्जन विभिन्न मौला र शक्तिपीहरु र स्थानीयले पनि घर-घरमा फूलपाती भित्र्याए ।

जाजरकोटमा उखु, अदुवा, बेलपत्र लगायत पूजा सामग्री र खडग देवतासहित फूलपाती भित्र्याउने चलन छ।

२३ वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राम्हण जातिका पुजारीले खडग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो। तर, माओवादी द्वन्द्वसँगै जिल्ला प्रहरी कार्यालय परिसरको कालिका मन्दिरमा खडग देवता राख्ने गरिएको थियो।

मंगलबार पनि कालिका मन्दिरबाट फूलपाती दरबारमा पूजाआजासहित भित्र्याइयो।

पुजारी सत्यप्रसाद शर्माले ल्याएको खडग र फूलपातीलाई राज्यका प्रतिनिधीका रुपमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले विधिपूर्वक भित्र्याए। इतिहासका जानकार केदारबहादुर शाहका अनुसार विक्रम सम्वत १८२५ माघ ७ गते नेपाल एकीकरणमा जुटेका पृथ्वीनारायण शाह र तत्कालीन जाजरकोटे राजा हरि शाहबीच कासीको मणिकर्णिकार घाटमा भेट भइ मितेरी लगाएर धर्मसन्धि भएको थियो। नेपाल एकीकरणको अभियानमा लागेर नुवाकोटको पहिलो आक्रमणमा पराजय भोगेका पृथ्वीनारायण नयाँ र आधुनिक हतियारको जोहो गर्न गएका थिए। त्यतिबेलै तिर्थाटन गर्न गएका जाजरकोटी राजा शाहबीच एकीकरण अभियानलाई सघाउने, पृथ्वीनारायणको फौजले जाजरकोट राज्यमाथि आक्रमण नगर्ने, जाजरकोट राज्यको अस्तित्व कायम रहने लगायत सम्झौता कासीमै भएको शाहले बताए। सोही सम्झौताका क्रममा पृथ्वीनारायणले शक्तिको प्रतिक भगवतीको मूर्ति र खडग जाजरकोटे राजालाई उपहार दिएको इतिहासमा उल्लेख भएको शाहले बताए।

पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर हनुमान ढोकामा भित्र्याउने परम्पराको थालनी गरेसँगै जाजरकोट दरबारमा पनि जगतीपुरबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको शाहले बताए। २ सय ५५ वर्षअघि जाजरकोट राज्यको दरबार जगतीपुरमा थियो। हाल जगतीपुर दरबार भग्नावेश छ।

प्रकाशित : आश्विन १८, २०७६ १८:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×