सिंघिया हाटको खसी मेला

शब्द/तस्बिर : जितेन्द्र साह

मोरंग — मोरंगको प्रमुख सहर विराटनगर एवं कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोला किनारको सिंघिया हाटमा वर्षभरी बुधबार र शनिबार खसी बजार लाग्छ । मोरंगको दक्षिणपूर्वी भेकका ग्रामीणले घरमै पालेको स्वस्थ खसी यहाँ ल्याएर बेच्ने हुनाले वरिपरिका सहरबजारका अधिकांश उपभोक्ताको रोजाइमा यो हाट पर्छ ।

प्रकाशित : आश्विन १८, २०७६ १२:३५

निजी सवारी साधन र विद्युतीय रिक्सामा चढि खसी किन्न यहाँ आइपुग्छन् । मोरंगकै सबैभन्दा सस्तो खसी बजारमध्येको एक यहाँ दसैंतिहार जस्ता चाडबाड नजिकिंदै जाँदा अस्वाभाविक रुपले चहलपहल बढ्न थाल्छ । यो थलोलाई स्थानीयले यतिखेर खसी मेला भन्न मन पराउँछन् ।

फूलपातीमा शनिबार बिहानदेखि यो बजारमा खसी किन्ने र बेच्नेको घुइँचो थियो । व्यापारी र क्रेता दुवै हत्तारोमा देखिन्थे । कोहीले छामेर त, कोहीले उचालेर खसीको मोलतोल गरिरहेका थिए ।

किनबेच सक्ने बितिकै उनीहरु घरतिर लाग्थे । दिउँसोसम्मै यो क्रम जारी रह्यो । राम्रो दाम पाउँदा व्यापारी मख्ख र मस्त खसी किन्न पाएकोमा उपभोक्ता दंग देखिन्थे । यहाँ प्रति गोटा न्यूनतम ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा सानादेखि ठूला खसी बिक्री भएको थियो । पूर्वाञ्चलकै अन्य सहरबजारको हाटमा यी खसीहरु यहाँको भन्दा दोब्बर मूल्यमा बिक्री हुने गरेको स्थानीयले बताए ।

दसैं अगाडिको शनिबार यहाँको खसी हाटमा त खुट्टा टेक्ने ठाउँ समेत नभएको स्थानीयहरुले बताए । ग्रामिण भेकका कृषकले घरमै बाख्रा पालन गर्छन् । यसमा महिला किसान बढी हुन्छन् । उक्त हाटमा महिला ब्यापारीकै बाक्लो उपस्थिति थियो । आपतविपत र बेखर्ची भएको बेला उनीहरु यि खसी बेचेर गर्जो टार्छन् ।

कतिपयले खसी बेचेर चाडबाडको खर्च निकाल्छन् । उक्त हाटमा आएका धेरैजसो महिला कृषकहरुले खसी बेचेर दसैंतिहारको खर्च निकाल्ने गरेको बताए । उनीहरुमध्ये अधिकांश गरिब किसान र ज्यालादारी मजदुर थिए । किनमेल गर्न आउनेमा समेत महिला उपभोक्ता नै बढि थिए ।

खुल्ला प्रकृतिको हाट भएकाले सामान्य दिनमा कति र मुख्य पर्वहरुमा कति खसी बिक्री हुन्छ भन्ने अनुमान गर्न सकिन्न । किनबेच सकिन बितिकै घरतिर लाग्ने हुनाले यहाँ हुने कारोबारको यकिन हुन्न ।

प्रतिक्रिया
पठाउनुहोस्

फूलपातीको रौनक (तस्बिरहरु)

कान्तिपुर संवाददाता

काठमाडौँ — दशैंको सातौं दिन सप्तमीमा मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । दसैंघर तथा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत परम्पराअनुसार फूलपाती भित्र्याइएको हो ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम सुरु भएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ १२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्