कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जितियामा झाम्टा नाँच

रमेशकुमार पौडेल

चितवन — थारु समुदायमा महिलाहरुले मनाउने पर्व जितिया चितवनमा शनिबारबाट सुरु भएको छ । जितियामा महिलाहरु झाम्टा नाँच्ने गर्दछन् । झाम्टा नाँच थारु समुदायका टोट टोलमा हप्ता १० दिनअघि नै सुरु भएको थियो । थारुहरु चितवनका मुख्य आदिवासी समुदाय हुन् । जिल्लाको समथर क्षेत्र राप्ती र नारायणी नदी किनारका इलाका र माडीमा थारुहरुको बाक्लो बसोबास छ ।

झाम्टा मौलिक नाँच हो । शब्द थारु भाषामै हुने भयो । गाउने र नाँच्ने शैली पनि सुन्दै आएका गीत र नाँचभन्दा फरक पाइन्छ । १५/२० जनाको समूह बनाएर महिलाहरु झाम्टा नाच्ने गर्दछन् । झाम्टामा महिलाहरु गोलाकार भएर घुम्दै शरिर निहुराएर थपडी बजाउने गर्दछन् । समूहका आधा सदस्यले गीत झिक्छ, त्यसपछि आधाले त्यसैलाई दोहर्‍याउने गर्दछन् ।

जितियाको मुख्य पुजा भोलि असोज ५ गते आइतबार छ । तर महिलाहरु आज शनिबारदेखि नै नदी र खोलाहरुमा गएर नुहाइ पुजा विधि सुरु गरी सकेका छन् । यो पर्व तीजसँग मिल्दो छ । जितियाको अघिल्लो दिन तीजमा दर खाए जस्तै थारु महिलाहरु मिठा परिकार खान्छन् । उनीहरु रातभरी झाम्टा नाँच्दै खाने कुराहरु खान्छन् । जितियाको दिन साँझपख महिलाहरु भेला भएर ‘जितवाहन’को कथा सुन्दछन् ।

गाउने, नाँच्ने, खाने, पुजा गर्ने अर्थात तीजकै प्रक्रिया जितियामा पनि छ । तर सन्दर्भ र पुजा विधिहरु फरक र मौलिक छन् । झाम्टा नाँच्दा महिलाहरु पहिला पहिला आफ्ना सुख दुःखका कथाहरु गीत बनाएर गाउँथे । अहिले समाजका समसामयिक विषय र सतेनामुलक सन्देश पनि गीतमा समेट्छन् । र प्रौढ महिलादेखि युवती र कुशोरी तथा बालबालिकासम्म आफ्नो मौलिक भेषमा देखिन्छन् ।

प्रकाशित : आश्विन ४, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्