फेवातालमा जलकुम्भीको जगजगी

दीपक परियार

पोखरा — हरेक बर्खामा फेवाताल जलकुम्भीले ढाकिन्छ । यो वर्ष असार–साउनमा उतिसारो पानी परेन । भदौमा समेत हर्पन खोला उर्लिने गरी बढेन । भदौ अन्तिमदेखि परेका अविरल वर्षाले भने हर्पन खोला हृवात्तै बढ्यो । भदौ ३१ रातिको ठूलो वर्षाले फेवातालको उपल्लो भेगमा भएको जलकुम्भी हर्पनले बगाएर तल्लो भेगतिर ल्यायो । यतिखेर जलकुम्भीले पुरै ताल ढाकेको छ ।

प्रकाशित : आश्विन २, २०७६ १६:२०

हल्लनचोक, बाराहीघाट, डिहीकोपाटन, बसुन्धरापार्क, ड्यामसाइड किनारमा जलकुम्भी छपक्कै छ । स्थानीय डुंगा व्यवसायी भुवन परियार यतिधेरै जलकुम्भी पहिलोपल्ट देखेको बताउँछन् । ‘७–८ वर्षदेखि जलकुम्भी बगाएर ल्याउथ्यो,’ उनी भन्छन्, ‘यतिधेरै बगाएर ल्याएको पहिलोपल्ट हो ।’

डुंगा व्यवसायी समिति, सुरक्षाकर्मी, स्थानीय आमा समूह, क्लब, विभिन्न संघसंस्थाले जलकुम्भी झार फाल्दै आएका छन् । गत वर्षदेखि भने मेसिनबाट जलकुम्भी झार फाल्ने गरिएको छ । जलकुम्भी यतिधेरै छ कि सबै सफा गर्न एकदेखि डेढ महिना लाग्छ । पर्यटकीय मौसम सुरु भएको बेलामा फेवाताल जलकुम्भीले ढाकिएपछि पर्यटन व्यवसायी चिन्तित छन् ।

मेसिनले हाल दिनमा १५–१६ ट्रिप जलकुम्भी झार निकाल्छ । एक ट्रिपमा २ टन झार निकाल्ने मेसिन अपरेटर सरोज पुनले बताए । मेसिनले एक घण्टामा ४.५ लिटर डिजेल खपत गर्छ । मेसिन मात्रैले झार फाल्न एक महिनाभन्दा बढी लाग्ने पोखरा महानगरपालिका अन्तर्गत फेवाताल संरक्षण आयोजनाका सुपरभाइजर ध्रुवबहादुर गोदार बताउँछन् । ‘मेसिनले मात्रै चाँडै फाल्न सकिँदैन,’ उनी भन्छन्, ‘पोखराका विभिन्न संघसंस्था मिलेर झार फाल्नुको विकल्प छैन ।’

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपैयाँमा मेसिन ल्याइएको हो । क्यानडाबाट ल्याइएको मेसिनको तौल २ टन छ । मेसिनको लम्बाइ ३६ फिट र चौडाइ ८.५ फिट छ ।

प्रतिक्रिया
पठाउनुहोस्

जहाज होल्डको विषयमा पर्यटनमन्त्रीले लिए स्पष्टीकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको विषयमा छानविन गर्न नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।

बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरवेजलगायतका अन्तर्राष्ट्रिय उडानका जहाज करिब दुई घन्टा भन्दा बढी समय आकाशमै होल्ड भएको थियो ।

स्रोतका अनुसार मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीलाई जहाज होल्ड हुनुबारे स्पष्टीकरण सोधेका थिए ।

बिहीबार दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको थियो ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार भीओआर र डीएमई उपकरण १० बजेर ४८ मिनेटमा बिग्रिएको थियो। साढे १२ बजेतिर यसको मर्मत सकिएको थियो।

प्रकाशित : आश्विन २, २०७६ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्