कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रंगमञ्चबाट विद्यार्थीको सन्देश

माधव घिमिरे

विराटनगर — सातायता विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला नाटकघर विद्यार्थीमय बन्यो । गत शुक्रबार सुरु भएको विद्यार्थी नाटक महोत्सवका क्रममा सयभन्दा बढी विद्यार्थी सहभागी भए । उनीहरुले ९ वटा नाटक प्रदर्शन गरे । समाजका कुरितिविरुद्ध सचेतना, सकारात्मक सोचाइ राख्न प्रेरणा अनि अनुशासन र परिश्रमजस्ता पक्ष समेटेर रचिएका सन्देशमूलक कथालाई विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

अन्धविश्वासमा आधारित छाउपडी प्रथाको कष्टदेखि परिश्रम र अनुशासनको सन्देश दिने नाटक विद्यार्थीले प्रदर्शन गरे । यसैगरी नेपाली मौलिक संस्कृति र चाडपर्वबारेमा पनि नाटकका विषयवस्तु केन्द्रीत थिए ।

धीरज राईको लेखन तथा विकास पराजुली र राजेश ठाकुरको निर्देशनमा तयार पारिएको नाटक ‘म-नैतिक’ नाटक मञ्चनबाट सुरु भएको महोत्सव आइतबार रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक स्कुलले ‘परिवेश’ नाटक प्रदर्शनसँगै समापन हुँदैछ ।

विराटनगर महानगरका ८ र रंगेली नगरपालिकाको १ विद्यालयका विद्यार्थी महोत्सवमा सहभागी थिए । अन्नपूर्ण एकेडेमीले ‘मेहनत र परिश्रमको फल’, पेरागन एकेडेमी माविले ‘दसैं’ र सेन्ट जोसेफ स्कुलले ‘लक्ष्मीपूजा’ नाटक प्रदर्शन गरे । यसैगरी सप्तकोसी बोर्डिङ स्कुलले ‘छाउपडी’, बुढानिलकण्ठ स्कुलले ‘नासो’, लिलिपुटले ‘प्रधानमन्त्री’, श्रीश्री रविशंकर विद्या मन्दिरले ‘चण्डालिका एक अनन्त प्रेम कहानी’ प्रदर्शन गरिसकेका छन् ।

विद्यार्थी बेलैदेखि रंगमञ्चमा रुचि जगाएर उनीहरुमा भएको प्रतिभालाई अवसर दिन आरोहणले १० दिने विद्यालय नाटक महोत्सव सञ्चालन गरेको अध्यक्ष भैरव क्षेत्रीले बताए ।

प्रकाशित : भाद्र २९, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्