१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पासाङ ल्हामुमार्ग भासिँदा यातायत ठप्प, यात्रुहरु जाेखिम मोलेर पहिराे पार गर्न बाध्य [तस्बिरहरु]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — पहिरोले सडक भासिँदा पासाङ ल्हामुमार्गको रसुवा खण्डमा बुधबार साँझदेखि यातायात अवरुद्ध छ । पासाङ ल्हामुमार्गको राम्चे र ग्राङ सडक खण्डको बिचभाग नाकुरदुङ भन्ने ठाउँमा बुधबार साँझ करिब ५ बजे सडक भासिएको हो । उक्त ठाउँ कालिका गाउँपालिका–१ मा पर्दछ ।

पहिरोले सडक भासिँदा रसुवागढी नाका जोड्ने सडकमा यातायात ठप्प भएको छ । सडक कुनासम्म पुरै भासिएको वडा अध्यक्ष मालफुर्पा तामाङले बताए । ‘पैदल आवतजावत गर्नसक्ने अवस्था पनि छैन,’ उनले भने, ‘यात्रा जोखिम रहेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रुहरुले सास्ति बेर्होनु परेको छ । पैदल यात्रीहरु एनसेलले बिछ्याएको फाइबरमा टेकेर पहिरो क्रस गरिरहेका छन् । सडक तत्काल खुल्ने अवस्था छैन ।’

यातायात ठप्प हुँदा स्थानीय बासिन्दा, पर्यटक र मानसरोवर जाने तीर्थयात्रीहरू मर्कामा परेको छन् । पहिरो गएको स्थानबाट यात्रुहरु दुईवटा सवारी साधन परिर्वतन गरेर गन्तव्यतर्फ गइरहेका छन् । मोटरसाइकलमा यात्रा गर्नेले जोखिम मोलेरै पैसा तिरेर तारेका छन् । सदरमुकाम धुन्चे र चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोडने सडक यही नै हो । चाडवाडको मुखैमा सडक अवरुद्ध हुँदा व्यापारीहरु चिन्तित भएका छन् । लामो समय यातायात अवरुद्ध हुँदा स्याउलगायतका वस्तु कुहिने डर भएको व्यवसायीलेहरुले बताएका छन् । राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियां सामानकै वर्चश्व छ । अहिले दशैं र तिहारका लागि चीनबाट सामान आयात धमाधम भइरहेको व्यापारी धर्म पौडेलले बताए ।

‘चाडबाडको मुखैमा यातायात अवरुद्ध हुँदा सबैभन्दा बढी व्यवसायी मर्कामा परेका छन्,’ उनले भने । भन्सार गरेर छुटेका र सामान लिन केरुङ हिंडेका सयौं कन्टेनर बिच बाटोमा नै रोकिएका छन् । सडक भासिएको ठाउँमा निर्माणको काम बिहिबारबाटै सुरु गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भटराइले बताइन् । सडक भासिएको छेउमा ठुलो पहरो रहेकाले तत्काल सडक सुचारु गर्नका लागि कठिनाइ रहेको छ । सडक डिभिजन कार्यालय नुवाकोटसँग समन्वय गरेर पहिरो गएको ठाउँमा तारजाली हाल्नेकाम सुरु भएको उनले जानकारी दिइन् ।

प्रकाशित : भाद्र २७, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्