इन्द्रजात्राको लिंगो ठड्याइयाे, विधिवत रुपमा इन्द्रजात्रा सुरु [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — इन्द्रजात्रा महोत्सव मनाउन हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्तिअगाडि मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याइएको छ । अब राजधानीमा विभिन्न कार्यक्रमसहित एक सातासम्म इन्द्रजात्रा महोत्सव मनाइन्छ ।


प्रकाशित : भाद्र २४, २०७६ १०:०९

करिब ३२ हातको लिंगोमा इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, बैन्डबाजा र पञ्चैबाजा बजाएर मंगलबार बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा लिंगो ठड्याइएको थियो । नेपालभाषामा 'योसीं' भनिने उक्त लिंगोमा विभिन्न प्रकारका मंगल सूचक चिह्नहरू अंकित पताकाहरू झुन्ड्याइएको थियो । लिंगोको फेदीमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिएको थियो । लिंगो ठड्याएपछि सैनिकहरूले बन्दुक पड्काएर बढाइँ गरेका थिए । त्यसपछि गुरुजुको पल्टन, पञ्चैबाजा, बैन्डबाजा, मानन्धरहरूका क्वँचाः खीं बाजा मा मालश्रीको धुन बजाउँदै लिंगो परिक्रमा गरेका थिए ।

समारोहस्थलमा किलाघः टोलका ज्यापू समुदायले परम्परागत देवीनाच प्रस्तुत गरेको थियो । साथै, राजप्रतिनिधिका रूपमा राजखड्ग ल्याइएको थियो । लिंगो ठड्याएको हेर्न निकै संख्यामा विदेशी पर्यटकसमेत भेला भएका थिए ।राजधानीदेखि पूर्वमा पर्ने नाला भन्ज्याङको सल्लेरी वनबाट तानेर ल्याइएको उक्त लिंगोलाई बाजागाजासाथ तानेर त्यहाँ पुर्‍याइएको थियो । इन्द्रजात्राको अवसरमा लिंगो ठड्याउने परम्परा राजा सिंहप्रताप शाहलेचलाएका थिए ।

लिंगो ठड्याएको ठाउँसँगै रहेको इन्द्रपुरको मन्दिरको माथिल्लो तलामा सुनको इन्द्रेश्वर महादेवको मूर्ति र हनुमानढोका दरबारसँगै सुनको मोलम्मा लगाइएको श्वेत भैरव (सरभ मुख) को विशाल प्रतिमा पनि प्रदर्शनका लागि राखिएका थियो । साथै काष्ठमण्डप (मरुसत्तल) अगाडि अग्लो डबली बनाई त्यसमाथि खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर प्रदर्शनका लागि राखिएको थियो ।इन्द्रजात्रा मनाउन कुमारीघर, मरुसत्तल, सिंल्यँ सत्तल, हनुमानढोका दरबार लगायत मन्दिरमा रङरोगन लगाई नयाँ झल्लर राखी सिंगारिएको छ ।इन्द्रचोकमा रहेको आकाश भैरवको मूर्तिलाई राति बाहिर खट बनाएर विभिन्न प्रकारका रंगीचंगी फूलले सिंगारेर राखिएको थियो ।

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सामुदायिक विद्यालय जोगाउँदै आमा समूह

घनश्याम खड्का

म्याग्दी — बर्सेनि विद्यार्थी घटेपछि गाउँका सामुदायिक विद्यालय संकटमा परेका छन् । गाउँका आमा समूह सामुदायिकलाई जोगाउन लागिपरेका छन् ।

गाउँमा सेवा सुविधा पुग्न नसकेपछि बसाइँ सर्ने क्रमसँग दिनानुदिन विद्यार्थी घट्दा सामुदायिकमा समस्या थपिएको हो । गाउँका विद्यार्थीलाई सामुदायिकमा पढाउन समुदायले विभिन्न स्रोत परिचालन गर्न थालेका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका लाहुरे वा गाउँ घुम्न आएका पर्यटकलाई आमा समूहले मादल बजाउँदै नाचगान र फूलमालाले स्वागत सत्कारपछि पाएको ‘टिप्स’ रकमले विद्यालयका शिक्षकलाई तलब खुवाउने गरेका छन् । औंसी पूर्णिमामा माइतीले टीका लगाएर दिएको दक्षिणा पनि आमा समूहको कोष हुँदै तिनै विद्यालयमा खर्च हुने गरेको छ ।

‘दरबन्दीविहीन छौं । शिक्षकको तलबभत्ता वार्षिक १० लाख रुपैयाँ जोहो गर्नु समुदायलाई सजाय दिएजस्तै भएको छ,’ धौलागिरि गाउँपालिका–३ मुदीस्थित बुद्धि विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले भने, ‘शिक्षक–अभिभावकको ध्यान पढाइको गुणस्तर सुधारभन्दा तलब भत्ताको जोहो गर्नमै बित्छ ।

गाउँमा धौलागिरि जाने पर्यटक हुन वा विदेशबाट आउनेसँग मादल र डम्फु बजाउँदै चन्दा मागेर विद्यालय चलाएका छौं ।’ निजी स्रोतबाट सञ्चालित जिल्लाका ४८ माध्यमिक तहका सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । राजनैतिक हस्तक्षेप र पहुँचका आधारमा असन्तुलित शिक्षक दरबन्दी वितरण हुँदा दुर्गम भेगका सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् ।

विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी दिने सरकारी नीतिअनुसार दरबन्दीविहीन विद्यालय सञ्चालन गर्न समुदायलाई हम्मे परेको छ । विद्यालय चलाउन चन्दाबाट आजित अभिभावक गाउँ छोड्न थालेका छन् ।

‘विद्यार्थी थोरै छन, निजी स्रोतबाट शिक्षक पाल्नु पर्दा समुदाय हैरान भएका छन् र विषयगत शिक्षकको अभावले गुणस्तरीय पढाइसमेत भएको छैन तर पनि गाभ्न मिल्दैन,’ अन्नपूर्ण गाउँपालिका–७ स्थित आदर्श माविका प्रधानाध्यापक कुमार पुनले भने, माध्यमिक तहमा जम्मा १४–१५ विद्यार्थी छन् । गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षक व्यवस्था गर्न समुदायलाई समस्या भएको छ तर सबैभन्दा नजिकको छिमेकी विद्यालय पुग्न ४ घण्टा लाग्ने भएकाले गाभ्न पनि सकिएन ।’

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका अनुसार बसाइँसराइ तीव्र भएपछि ग्रामीण भेगका विद्यालयमा विद्यार्थी संख्या बर्सेनि घट्दो छ । तथ्यांक अनुसार प्रावि तहमा एक शिक्षक बराबर १७, निमाविमा ३३, माविमा २५ र उच्च मावि तहमा ६५ विद्यार्थी अनुपात छ ।

प्राविमा १६ हजार ८ सय ७२ विद्यार्थीका लागि ८ सय ३० शिक्षक, निमावि तहमा ९ हजार ४ सय ६६ विद्यार्थीका लागि २ सय ४६ शिक्षक र मावि तहका ४ हजार ८ सय ४९ विद्यार्थीका लागि १ सय ६५ शिक्षकले पढाइरहेका छन् । दरबन्दीको असमान वितरणले सदरमुकाम र आसपासका क्षेत्रमा शिक्षक बढी छन् भने दुर्गममा अभाव छ ।

‘भौगोलिक दुर्गमताले समुदायको सक्रियतामा गाउँगाउँमा विद्यालय खुले पनि समुदायलाई निरन्तरता दिन हम्मे परेको छ । विद्यार्थी अनुपातमा दरबन्दी वितरण गर्ने नीतिले समस्या सम्बोधन गर्न कठिन छ’ शिक्षा विकास तथा समन्वय अधिकारी दलबहादुर थापाले भने, ‘दुर्गमका सामुदायिक विद्यालयमा दरबन्दीको मात्र समस्या छैन, निजी स्रोतबाट बढी पैसा दिन्छु भन्दा पनि विज्ञान विषयका शिक्षक पाएका छैनन् ।

बर्सेनि विद्यार्थी पढ्दै नपढेको विषयमा परीक्षा दिइरहेका छन् ।’ शिक्षा क्षेत्र गाउँपालिका/नगरपालिकालाई हस्तान्तरण गरेपछि निजी स्रोतबाट चलेका विद्यालयलाई सामान्य राहत भए पनि दरबन्दी कायम गर्ने/मिलानको समस्या उस्तै छ । स्थानीय तहले पनि राजनीतिक आँखाले हेर्दा सामुदायिकविद्यालय मारमा परेका छन् ।

प्रकाशित : भाद्र २४, २०७६ १०:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT