१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गर्मी बढेपछि तालतलैयामा (तस्बिरहरु)

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — अहिले जिल्लामा अत्यधिक गर्मी बढेको छ । दिनभर जसो लाग्ने टन्टलापुर घामले जनजीवन कष्टकर बनाएको छ । बाटोमा हिँड्दा उखरमाउदो गर्मीको तातो रापले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । शनिबारदेखि यहाँ अत्यधिक गर्मी बढेको छ । मंगलबार यहाँको तापक्रम अधिकतम् ३७ डिग्री सेल्सियस पुगेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभाग ईकाईका रामु रेग्मीले बताए । न्यूनतम पनि २५ डिग्री रहेको छ ।

तापक्रम बढ्दा यहाँको जनजीवन प्रभावित बनेको छ । ‘गर्मीले दिनभरि घरभित्रै बस्छौं‘ नयाँटोलकी गृहणी सृजना ज्ञवालीले भनिन्, ‘स्कुल गएका छोराछोरी लिनजान पनि निक्कै गाह्रो हुन थालेको छ ।’ प्रचण्ड गर्मीले आत्तिएका बेला बालबालिका भने नदी तालतलैयामा नुहाएर आनन्दित हुने गरेका छन् । अहिले यहाँको जगदीशपुर ताल आसपास दिउँसो नुहाउनेको उत्तिकै भीड हुन्छ । बालबालिकाहरु तालको हेड रेगुलेटर र चरा बनाएको प्रतिक्षालयमाथिबाट पौडी खेलेर गर्मी फाल्ने गरेका छन् । उनीहरु विभिन्न तरिकाले १० देखि २० मिटर माथिबाट हाम फालेर रोमाञ्चित बन्ने गर्छन् । साता यतादेखि गर्मी एक्कासी बढेपछि नदी, ताल र पोखरीमा नुहाउने बढेका छन् ।

प्रकाशित : भाद्र १९, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्