पाँच दिपङ्कर बुद्धको नगर परिक्रमा [तस्बिरहरु]

लीला श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व पञ्जरां पर्व (पञ्चदान)को अवसरमा पाँच दिपङ्कर बुद्धलाई नगरपरिक्रममा गराइएको छ । भाद्र कृष्ण त्रयोदशीका दिन बुधबार भक्तपुरका बौद्ध धर्मावलम्बीले पाँच दिपङ्कर बुद्धको नगरपरिक्रमा गराई भव्यताका साथ पञ्जरां पर्व मनाए ।

प्रकाशित : भाद्र ११, २०७६ १८:५०

पञ्जरां पर्वमा भक्तपुरका पाँच बिहारबाट निकालिएको दिपङ्करलाई दिनभर नगरको करिब ६४ स्थानका साथै बौद्ध बिहारहरूमा परिक्रमा गराई मनाउने प्रचलन छ ।

दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुर नगरको क्वाठन्डौको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवैही महाविहार, साकोठाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कथुबही महाविहारबाट निकाली बुधबार बिहानैदेखि नगरको परिक्रमा गराएको स्थानीय देवचन्द्र बज्राचार्यले बताए ।

पञ्जरां पर्वमा पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएको काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, सुन, कपडा, सुपारी, पैसा आदि गच्छे अनुसार दान गर्ने परम्परा छ । पञ्जरां मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यसदिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गरी पाँच प्रकारका वस्तु दान गर्ने प्रचलन रहेको स्थानीयबासिन्दा बताउँछन् ।

पूजामा धुप, दीप, गन्ध, र रस, भोजन सामग्रीमा धान, चामल, गहुँ, क्वाटि, केराउ, मास, पिंडालु, मुला, पेय पदार्थमा सख्खर पानी (सखत), सिसाफल, (फलफूल), औषाधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय वस्त्र, आसन, खरी ढुंगा (चक, दतिवन आदी दान गर्ने परम्परा रहेको बज्राचार्य बताउँछन् ।

बौद्ध धर्मावलम्बीहरू दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिका, वृद्धवृद्धाले पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरि भिक्षा ग्रहण गर्ने परम्परा छ ।परम्परागत गुंला धां: बाजा, दाफा भजन, श्रृङ्गभेरी बाजा बजाएर नगर परिक्रमा गर्ने बौद्ध विद्धान पुष्परत्न शाक्यले बताए । बौद्ध धर्मावलम्बीले यसदिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने उनी बताउँछन् । पञ्जरां पर्व विशेषगरी शाक्य र बज्राचार्यहरूले मनाउने गरिन्छ ।

भाद्र कृष्ण त्रयोदशीका दिन यो पञ्जरां पर्व काठमाडौं, साँखु, भक्तपुर, मध्यपुर थिमि, बनेपा, पनौतीलगायत स्थानहरूमा मनाइन्छ । पाटनमा भने पञ्जरां पर्व प्रत्येक वर्ष श्रावण शुक्ल अष्टमीका दिन मनाइने बौद्वविद्वान शाक्यले बताए ।

प्रतिक्रिया
पठाउनुहोस्

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : तालाबन्दीका क्रममा तनाव

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको तालाबन्दी खोलिएको छ । प्रतिष्ठान बचाऔं अभियानले उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग गर्दै प्रशासनिक भवनका सबै कक्षका साथै मूल गेटमा बुधबार ताला लगाएको थियो ।

अभियानका संयोजक विकिरण गौतम नेतृत्वको टोलीले कर्मचारीलाई बाहिर निकालेर ताला लगाएको हो।

मूल गेटमा ताला लगाउने क्रममा प्रहरी र अभियानको टोलीबीच झडप भएको थियो। उपकुलपति भण्डारीले प्रतिष्ठानको हितमा काम गर्न नसकेको, चिकित्सकलाई काम गर्ने वातावरण नदिएको र स्वास्थ्य सेवा महँगो बनाएको भन्दै अभियानले आन्दोलन गरिरहेको छ। अभियानले आइतबार भण्डारीको राजीनामा माग गर्दै ज्ञापनपत्र पेस गरेको थियो। तालाबन्दीका क्रममा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि हातपात भएको र ढोकाको सिसा फुटाइएको एसपी बेलबहादुर पाण्डेले बताए। प्रहरीले सबै ताला फुटाएर बुधबार नै प्रशासनिक भवन सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए।
प्रतिष्ठानमा कार्यरत २३ चिकित्सकले काम गर्ने वातावरण बनाइदिन या राजीनामा स्वीकृत गर्न उपकुलपतिलाई आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए। आठ बुँदा पेस गर्दै उनीहरूले माग पूरा नहुँदासम्म इमर्जेन्सीबाहेकका स्वास्थ्य सेवा दिन नसक्ने बताएका थिए। आइतबार उपकुलपति भण्डारीले ९ चिकित्सकको करार भंग गरेकी थिइन्। त्यसमध्ये इन्टर्नसिपमा आएका पाँच जना काममा फर्किएका छन्। अन्य चिकित्सक काममा आएका छैनन्। त्यसले स्वास्थ्य सेवा प्रभावित भएको छ।

नागरिक समाज, मानवअधिकार सन्जाल, पत्रकार महासंघलगायत संघसंस्थाले प्रेस विज्ञप्ती जारी गरी प्रतिष्ठानमा उत्पन्न समस्याप्रति गम्भीर भई नागरिकको सर्वसुलभ र सहज रूपमा स्वास्थ्य सेवा पाउने अधिकार सुरक्षित गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। उपकुलपति भण्डारीले भने गलत काम गर्ने चिकित्सकलाई कारबाही गर्न खोज्दा विरोध भएको बताएकी छन्।

प्रकाशित : भाद्र ११, २०७६ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्