चुरे बचाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

तस्बिर : केशव थापा

काठमाडौँ — चुरेको बढ्दो विनाश रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । सोमबार मध्यान्ह माइतीघर मण्डलमा भेला भएका युवाले माइतीघरबाट खबरदारी जुलुस वन तथा वातवरण मन्त्रलायमा पुगेर टुंगिएको थियो । जुलुसमा सहभागीले वन काटेर विकास गरेको कि विनाश? पैसाको हात्ती, जंगलको हात्ती, एउटा रुख नरोप्नेले २४ लाख रुख काट्ने लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

प्रकाशित : भाद्र २, २०७६ १३:४५

प्रतिक्रिया
पठाउनुहोस्

जसलाई कहीँ जानु छैन

९० को दशकमा नेपाल आएका भुटानी शरणार्थी डा. भम्पा राई भन्छन्, ‘कि आफ्नै माटोमा कि यही शरणभूमिमै मर्छु ।’
देवेन्द्र भट्टराई, अर्जुन राजवंशी

दमक — सन् ९० को दशकपछि एक लाखभन्दा बढी भुटानी नागरिक देशबाट लखेटिएर शरणार्थी बन्न पुगे । त्यो भीडमा एक जना पात्र यस्ता थिए, जो लखेटिनेहरूको पीडा एवं आर्तनाद पछ्याउँदै आफैं देशबाट बाहिरिएका थिए ।

डा. भम्पा राई । उमेरले ६८ वर्षका लागे । जीवनका पछिल्ला ३० वर्ष उनी आफ्नो भुटानी थातथलो छाडेर शरणार्थी चिनारी लिई बसिरहेका छन् । ‘म लखेटिएर अथवा खेदिएर आएको मानिस होइन । व्यक्तिगतभन्दा पनि मेरो जातिको, मेरो रगतको कुरा थियो यो । उनीहरू मेरो आँखैसामु लखेटिएका थिए, म भने कसरी ‘रोयल सर्जन’ भनेर बसिरहनु ?’

झापाको दमक चोकस्थित डेराघरमा कान्तिपुरसँग कुराकानी गर्दै डा. राईले भने, ‘आफ्नो जातिप्रतिको मेरो ड्युटी के हो ? आफ्नो जातिकै रक्षा गर्न नसक्नेले आफूलाई राष्ट्रवादी कसरी भन्नु र ? एकातिर राष्ट्र छ, अर्कातिर जाति छ । के गर्ने भन्ने द्विविधा थियो । तर मैले आफ्नै जातिलाई पछ्याएँ ।’

भुटान सरकारले रिफर गरेको फेलोसिपमा ढाकाबाट सर्जनको पढाइ पूरा गर्ने एक मात्र नेपालीभाषी हुन्, भम्पा । सन् १९८६ मा पढाइ सकेर भुटान फर्किंदा कथित जनगणनाको चर्चा सुरु भइसकेको थियो । गणनाकै नाममा लोत्साम्पा (नेपालीभाषी) लाई थातथलो छाडेर हिँड्ने अवस्था बनाइएको थियो । ‘मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने मसँग कुनै समस्या थिएन । म मन्त्रीको तहमा सेवासुविधा पाइरहेको व्यक्ति थिएँ,’ भम्पा भन्छन् ।

१९८९ को अन्त्यतिर भुटानबाट निस्किएर सीमावर्ती भारतीय गाउँ जयगाउँमा पनि भम्पा केही महिना बसे । तर त्यहाँ सुरक्षा खतरा थाहा पाएर उनी शरणार्थी बसेकै झापाको टिमाई किनारामा आई बसे । र, तत्कालै मेडिकल क्याम्प खोलेर शरणार्थीको उपचारमा खटिए । सन् १९९२ को सुरुवातदेखि भुटानी शरणार्थी घर फिर्ती समिति खोलेर र शरणार्थीलाई व्यवस्थित रूपमा शिविरमा राख्नुपर्छ भन्ने आवाज उठाउँदै भम्पाले टिमाई, खुदुनाबारी, गोल्धापसहितका स्थानमा शिविर राख्न पहल गरेका थिए ।

भुटानी शरणार्थीको घरफिर्तीमा नेपाल–भुटान वार्ताहरू अघि बढिरहे । कथित शरणार्थी वर्गीकरणको काम पनि सम्पन्न भयो । ‘तर राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा गरेको प्रतिबद्धतालाई पनि भुटानले पन्छाइरह्यो,’ डा. भम्पा सम्झिन्छन्, ‘शरणार्थीले पनि एक/दुई पटक होइन, बारम्बार घर फर्कने कि नफर्कने भन्ने देखावटी फारममा आफ्ना कुरा भरिरहे । अचम्म लाग्ने कुराचाहिँ द्विपक्षीय प्रमाणीकरणबाट सावित भइसकेका शरणार्थीलाई भुटान घर फिर्ता लैजाओ भनेर अन्तर्राष्ट्रिय समुदायले बोल्न किन नसकेको हो, किन नचाहेको हो ? मलाई सधैं अचम्म लाग्ने कुरा यही हो ।’

भम्पा श्रीमती उर्मिला प्रधानसहित दमक चोकमा भाडा घरमा बसेको २६ वर्ष भइसक्यो । घरबेटी खगेन्द्र गुरागाईँले यतिका वर्षदेखि सस्तो डेरा दिएकामा डा. भम्पा उत्तिकै आभारी छन् । ‘मैले यही दमक बजारमा बसेर हजारौं शरणार्थीको स्वास्थ्योपचारमा सक्दो सहयोग पुर्‍याएँ, तीमध्ये सबैजसो पुनर्वासका क्रममा तेस्रो देश गइरहेको पनि आँखैसामु हेरेर बसेको छु,’ भम्पा भन्छन् ।

पछिल्ला केही वर्षयता पेटसम्बन्धी गम्भीर समस्या भएर थलिएका डा. भम्पा आफूभन्दा बढी आफ्नी श्रीमतीको रोगमा चिन्तित छन् । ५६ वर्षीया श्रीमती उर्मिला पनि दुवै मिर्गौलामा समस्या आएपछि केही वर्षयता डायलाइसिसको भरमा बाँचेकी छन् । मिर्गौला प्रत्यारोपण गर्न भम्पासँग पैसा छैन । ‘एकै जना शरणार्थी भए पनि घर फिर्नैपर्छ,’ उनले भने, ‘म एक्लै भए पनि घर फर्कन तयार हुनेछु । तर घरफिर्तीबारे सबै प्रकारका संवाद र उपायमा छलफल हुनै छाडेको अवस्था भने अनौठो छ ।’

डा. भम्पा, टेकनाथ रिजाल, डीपी काफ्ले, बलराम पौडेल जस्ता केही शरणार्थीसँग अझै परिचयपत्र छैन । ‘शरणार्थी समस्या समाधानमा हामी शिविरबाहिर बस्ने भुटानीको त कुरै छाडौं, शिविरमै बस्ने ६ हजारभन्दा बढी भुटानी नागरिकको पनि के हालत हुने हो भन्न मुस्किल छ,’ भम्पा भन्छन् ।

नेपाल सरकारले शिविरमा बाँकी रहेका सबै शरणार्थीलाई स्थानीय बसोबासका लागि तयारी थालेकोबारे भम्पाले पनि केही ‘संकेत’ पाएका रहेछन् । तरआफ्ना बाबु आइतराज राईसहित आमा, बहिनी सबैको अन्तिम संस्कार झापाकै शरणभूमिमा गरेकाले भम्पा पनि आफ्नो अन्तिम इच्छामा ‘दृढ’ भेटिए । ‘म कि शरणार्थी भएरै यहीँ मर्छु, कि भुटान फर्कन्छु । मसँग अरू विकल्प छैन,’ दृढ स्वरमा उनी भन्छन् ।

भम्पाको नाम झापा–मोरङमा छरिएर बसेका भुटानी शरणार्थीका हकमा मात्रै होइन, दमकवासी असहाय र विपन्न नेपालीका निम्ति पनि ‘कल्याणकारी पात्र’ का रूपमा छाएको छ । उपचार सहयोग गर्नुपर्दा भुटानी, नेपाली, शरणार्थी नभनी मद्दत गर्ने उनको बानी थियो । भम्पाको मानवीय सद्भाव र कीर्तिका कारण नेपाल सरकारले उनलाई विपद्का बेला गत वर्ष १० लाख रुपैयाँ सहयोग दिएको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रूपमा १ लाख रुपैयाँ सहयोग दिएका थिए ।

‘यथार्थमा भुटानी नागरिकलाई शरणार्थी बनाएर अनेक तवरमा ‘फ्रेजाइल’ बनाइयो, घरफिर्ती कि पुनर्वास भन्दै अनेक पटक जाँच लिने काम भयो,’ भम्पा भन्छन्, ‘फुटबल जस्तै भए शरणार्थी । कहिले यता हिर्कायो, कहिले उता । त्यही लाचारीमा उनीहरू पुनर्वासमा गएका हुन सक्छन् ।’ भम्पा अहिले पनि दमक बजारको आफ्नो क्लिनिकमा उपचार सेवामा गइरहन्छन् ।

श्रीमतीको किड्नी डायलाइसिसमा बिर्तामोड धाउनु पनि छँदै छ । आफ्नो आन्द्राको समस्यामा भारतको सिलिगुडीसम्म जानुपर्ने हुन्छ । ‘हेर्नुस्, म भुटानको आफ्नो थातथलो छाड्दा आफूले टेकेको घरगाउँको माटो लिएर आएको थिएँ । यो माटो मैले अझै राखेको छु, पूजाकोठामा,’ भम्पालाई लागेको अनौठो अनुभूतिको कुरा बेग्लै छ, ‘विगतमा मसँगै स्वदेश फिर्ती गर्ने भन्दै माटोको टीका लगाउने शरणार्थीहरू यहाँसम्म आइपुग्ने गर्थे । अचम्म, उनीहरू त्यो टीका लगाएरै आज अमेरिका पुगिसकेका छन् । म भने घरै फर्कने भनेर बसिरहेको छु ।’

प्रकाशित : भाद्र २, २०७६ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्