कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अझै उठेनन् नेपाल-भारत सीमा स्तम्भ

मनोज पौडेल

कपिलवस्तु — एक महिनाअघि लढेका सीमास्तम्भ अझै उठन सकेका छैनन् । कपिलवस्तुको सुदुर पश्चिमको सीमा छुट्याउँदै बगेको दुई खोलामा ५ सीमा स्तम्भ लडेका छन् । एउटाको टुप्पो भच्चिएकोछ । असार २८ गते खोलामा आएको बाढीले सीमा स्तम्भ क्षतिग्रस्त बनेका थिए । महिना बढी भइसक्दा पनि सीमा स्तम्भ मर्मतसम्भार हुन सकेको छैन ।

विजयनगर गाउँपालिका-५ ठकुरापुर र भारतको बलरामपुर जिल्ला प्रतापपुरको सीमामा रहेका पिलर नं. ५७८/७ र ५७८/१० ढलेका छन् । त्यस्तै ७ नम्बर वडाको गेडुवाजोत र प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७/७ र ५७७/९ ढलेका छन् ।

उक्त पिलर जहाँ गाडिएका थिए त्यही लडेको ठकुरापुर प्रहरी चौकीका प्रहरी जवान परशुराम यादवले बताए । पिलर नं. ५७८/७ र र ५७८/१० पानी बाहिर देखिएको छ । ५७७/९ पिलरको टुप्पो मात्र देखिन्छ ।

बालुवाले पुरिएको छ । पिलर नं. ५७७/७ लाई पानीले डुबाएकोछ । त्यस्तै विजयनगर गाउँपालिका-१ चमरका जंगलमा २ वटा सीमा स्तम्भ क्षति भएकोछ । उनीहरुको नम्बर भने थाह हुन सकेको छैन् ।

वनको सव डिभिजन कार्यालय गुगौलीको गस्ती टोलीले साता अघि क्षति भएको सीमा स्तम्भ फेला पारेको थियो । अर्रा खोलामा आएको बाढीले एउटा सीमा स्तम्भ पुरेको छ । अर्कोको टुप्पो भाच्चिएकोछ । ‘पानी वहाव र बाढीका कारण सीमा स्तम्भहरु सर्दैछन्,' ठकुरापुरका रामबहादुर थापाले भने, ‘सक्दो छिटो बनाउनु पर्छ ।’ नभए यही समस्याले सीमा विवाद हुन सक्ने उनले बताए ।

सीमा स्तम्भ रेखदेख गर्ने जिम्मा पाएको सशस्त्र प्रहरीका प्रमुख उपरिक्षक जनक पुरीले भने आफू नयाँ आएकाले बुझ्ने क्रममा रहेको बताए । बुझेर थप जानकारी दिने उनले बताए । 'गृहमा जानकारी गराइसकेका छौं,' प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले भने, 'बर्खापछि मर्मत होला जस्तो छ ।'

प्रकाशित : श्रावण ३२, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्