गोसाइँकुण्डमा घुइँचो

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — पापबाट मुक्ति मिल्ने जनविश्वासका साथ बिहीबार सयौँ भक्तजनहरुले गोसाइँकुण्डमा स्नान गरेका छन् । जनैपूर्णिमाका दिन सबै देवी देवताहरुको गोसाइकुण्डमा जमघट हुने भएकाले उक्त दिन कुण्डमा पुजा आजा तथा स्नान गर्दा आनन्द हुने विश्वास रहि आएकाले यसदिन भक्तजनहरु पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डीएमले बताए ।

प्रकाशित : श्रावण ३०, २०७६ १६:४८

कुण्डमा स्नान गर्दा पितृ तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरु पुरा हुने विश्वासको साथ उकालोमा सकी नसकी आएको भक्तजनहरु बताउँछन् । यस वर्ष साउन २० गतेदेखि साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)को दिनसम्म गोसाइँकुण्डमा मेला लागेको थियो । भक्तजनहरुले कुण्डमा स्नान गरेपछि जनै फेर्ने र रक्षा बन्धन समेत गरेका थिए । बौद्धधर्मका भक्तजनहरुले भने कुण्ड वरपर लुङदर टाङने तथा झांक्री सहित नच्दै कुण्डको परिक्रमा गर्दछन् ।

गोसाइँकुण्ड जीवनमा एक पटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तिर्थस्थल रहेको छ । यो स्वदेश तथा विदेशमा समेत प्रसिद्ध रहेको छ । गोसाइँकुण्डमा गंगादसहरा र जनैपुर्णिमा गरी वर्षको २ पटक विशेष मेला लाग्ने गर्दछ । पौराणिक कथन अनुसार परापुर्व कालमा देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा उत्पन्न कालकुट विष सेवन गरेका भगवान शिवले विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशुल धाराको उत्पति भइ उक्त धाराको पानी जम्मा भएर गोसाइँकुण्ड बनेको भन्ने किम्बदन्ती पाइन्छ ।

प्रतिक्रिया
पठाउनुहोस्

वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ साहित्यकार स्व मदनमणि दीक्षितको पशुपति आर्यघाटमा बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो ।

स्व दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए । उनप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत आर्यघाट गएका थिए ।

यसअघि उनको शव श्रद्धाञ्जलिका लागि उनको निवास कालिकास्थानमा राखिएको थियो । निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाल काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुगेका थिए ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोश भएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कार लगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनले ‘समीक्षा’, ‘आजकाल’लगायत साप्ताहिक पत्रिका सम्पादन गरेका थिए । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।

प्रकाशित : श्रावण ३०, २०७६ १६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्