कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हेर्नुहोस् पूर्व राजाहरुले दरबारमा राखेका आखेटोपहारको लथालिंग अवस्था [फोटोफिचर]

साउन भित्र व्यवस्थापन गरिसकिने
तस्बिरः कञ्चन अधिकारी, दिनेश रेग्मी

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालयमा लथालिंग अवस्थामा रहेका वन्यजन्तुका हाडखोर, छाला, दाह्रालगायत आखेटोपहारको व्यवस्थापन गर्न थालिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिको निर्देशनअनुसार समिति बनाएर व्यवस्थापनगर्न थालिएको हो ।

११ मन्त्रालय तथा निकाय सम्मिलित समितिले वन्यजन्तुका हरेक सद्दे आखेटोपहारको नाप, तौल, बारकोडसहित चिप्स राखेर व्यवस्थापन गरेको छ । माइक्रोचिप्सलाई नदेखिने गरी आखेटोपहारमा राखिएको छ । नारायणहिटीको फरासखाना (भोजका लागि प्रयोग हुने सामान राख्ने ठाउँ) मा रहेका आखेटोपहारको व्यवस्थापन आइतबारदेखि सुरु गरिएको समितिले जनाएको छ ।

‘संग्रहका लागि राख्न मिल्ने र नमिल्ने आखेटोपहार छुट्याउन खटिएका छौं,’ समिति संयोजक तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले भने, ‘हामीले छुट्याएपछि प्रतिवेदन बनाएर समिति (प्रत्यायोजित व्यवस्थापन) लाई दिन्छौं र समितिले जे निर्देशन दिन्छ,त्यहीअनुसार काम गर्ने छौं ।’

समितिले हाल बाघ, हात्ती, गैंडालगायत वन्यजन्तुका हड्डीजन्य पदार्थ छुट्याउने काम गरेको छ । वन्यजन्तुका छाला भने कतिपय कुहिएका, ढुसी लागेका र पानीले भिजेका छन् । हाल तिनलाई घाममा सुकाएर राखिएको छ ।

आखेटोपहार व्यवस्थापनका लागि ११ मन्त्रालय र निकाय पदाधिकारी, सेना, प्रहरीसहित दैनिक ३५ जना खटिएको जानकारी भट्टराईले दिए । प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीले नारायणहिटीमा पुराना अभिलेख अध्ययन गर्न जाने क्रममा आखेटोपहारको दुर्गति देखेपछि व्यवस्थापन गर्ननिर्देशन दिइएको बताए ।‘निर्देशनअनुसार काम भएको छ भन्ने जानकारी आएपछि बिहीबार अनुगमन गर्न आएका हौं,’ बिडारीले भने, ‘हामीले हनुमानढोका र ग्यालरी बैठक (सिंहदरबार) का आखेटोपहार पनि संरक्षण गर्न भनेका छौं ।’

नारायणहिटी दरबार संग्रहालयका प्रमुख अद्वैतप्रकाश श्रेष्ठले आखेटोपहारको संरक्षण गरेपछि हानुमानढोका र ग्यालरी बैठकमा जाने तयारी गरिएको बताए । ‘छुट्याएर चिप्स लगाइएका आखेटोपहार अहिले दरबार संग्रहालयको स्टोरमा राखेका छौं,’ श्रेष्ठले भने, ‘यसपछि हनुमानढोका र ग्यालरी बैठकमा जान्छौं ।’ व्यवस्थापनमा जुटेको समितिले साउनभरिमा नारायणहिटीका आखेटोपहारलाई व्यवस्थित गर्ने जनाएको छ ।


प्रकाशित : श्रावण १७, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्