१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चिसो भुईमा सुत्छन् बाढीपीडित

शाहीमान राई

इनर्वा, धनुषा — जनकनन्दनी गाउँपालिका–१ इनर्वाकी ७५ वर्षीया भागवदेवी सदा बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएकी छन् । इनर्वाकी ७८ वर्षीया राजकुमारी सदा पनि छिमेकी कै शरणमा छिन् । उनीहरुजस्तै सोही गाउँकी ७५ बर्षिया आरतीदेवी गिरी, ५५ बर्षिया जुलवीदेवी सहनी, ५० वर्षीया सीता सदा, ४० वर्षीया निरुदेवी दास, ४९ वर्षीया काउलीदेवी कामत लगायत धनुषाका बाढीपीडित छिमेकीको शरणमा छन् ।

‘बाढीले छाप्रो बगाइदियो, खाने अन्न छैन, पकाउने भाँडाकुँडा छैन, ओढ्ने लुगा छैन, कसरी जिउने हामी गरिब मान्छे ?,’ भागवदेवीले दुःखेको पोखिन्, ‘घरको चिनोबानो छैन, सरकारले राहत दिनुपर्‍यो, घर बनाइदिनुपर्‍यो, हाम्रो माग यही छ हजुर ।’

भारतीय सिमावर्ती गाउँ इनर्वास्थित दशगजा आसपासको क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदाय बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । साँघुरो जमिनमा बनाएको छाप्रो घर, बनिबुत्तो गरेर जोहो गरेको खाद्यान्न, अन्नपानी, चामल, नुल, तेल, तरकारी, लुगाकपडासहित जीविकोपार्जनका निम्ति पालेका गाई–भैंसी, खसी–बाख्रा, कुखुरा र खेतीपाती समेत बगाएपछि विचल्लीमा परेका छन् ।

वर्षा र बाढीले डुवानमा परेको जमिन केहीदिनदेखि ओभानो हुँदै गएपछि सरकारी तथा गैरसरकारी संघसंस्थाबाट राहत स्वरुप पाएको एकथान पाल टाँगेर आफ्नै थातथलोमा बस्न थालेका छन् ।

राहत पाएको दाल, चामल, चाउचाउ, चिउरा, प्लाष्टिकका थालभाँडा, कम्बल ओढेर रात काट्न बाध्य छन् ।

जिल्लाका अधिकांश बाढीपीडित परिवार चिसो भूईंमा सुत्न बाध्य छन् । भूईंमा सुत्न बृद्धबृद्धा, बालबालिका र सुत्केरीलाई निकै कठिनाई भएको बाढीपीडित परिवारले बताए ।


प्रकाशित : श्रावण ११, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्