कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बाढीमा बालुवा झिक्न चटारो [फोटो फिचर]

तस्बिर/शब्द : हरिहरसिंह राठौर

धादिङ — यतिखेर बालुवा व्यापारीलाई दसैं लागेको छ । वर्ष दिनभरि हुने कमाई त्रिशूली र त्रिशुलीका शाखाहरु बेल्खु , आग्रा, महादेवखोला, मलेखु खोला, चिरौंदी र चरौंदी खोला, हुग्दी खोला किनारमा सयौंको संख्यामा वालुवा निकाल्ने मजदूरहरु व्यस्त छन् । कोही खोलामा पसेर बालुवा झिक्छन् भने कोही थुन्से थापेर बाहिर ओसार्छन् ।

त्रिशूली नदीसँग जोडिएर धादिङको दक्षिण सिमाना चितवन र मकवानपुरसँग जोडिएको महाभारतका पहाडी भू-भागबाट ठूलो वर्षात परे लगत्तै शाखा खोलाहरुले बालुवा सर्लक्कै त्रिशुली किनारमै ल्याएर आउँछ ।

त्रिशूली त आफैं पनि बालुवाको खानी हो । वर्षात्‌को भेलले त्रिशूलीमा बालुवा बगाएर छेउछाउ पुर्‍याउँछ । बालुवाबाट स्थानीय व्यापारीहरुले बर्सेनि करोडौंको कारोबार गर्छन् । त्रिशूली किनारका टार र ढिस्काहरुमा यसैपनि वैध/अवैध बालुवा खानीहरु सञ्चालनमा छन् । नदी र खोलाले बगाएर ल्याएको बालुवा संकलन गर्ने काम वैशाखदेखि भदौसम्मै चल्छ।

खोलाले बगाएर ल्याएको बालुवा संकलन गर्न यतिखेर पश्चिमको रुकुम, रोल्पा, जाजरकोट र सल्यानबाट समेत युवाहरु आएका छन् । गत वैशाखमा यार्सागुम्वा टिप्न डोल्पाको कागमारालेक पुगेका युवायुवतीहरु यसपाला यार्सागुम्वा को संकलन र व्यापार धेरै नभएपछि थप कमाई गर्न धादिङ आएका हुन् ।

‘यार्साले कमाई भएन, रित्तै हात घर फर्कन लाज भएर गत वर्ष झै यसपाला पनि यतै आयौं, घरमा कालापार भारत गएका होलान् भन्ने सोचेका होलान,’ जाजरकोट बारेकोट पछेउरीका सूर्य विकले भने । उनीसहित जाजरकोटका १३ युवाहरु दिनहुँ बालुवा बोक्छन् । एक टिपर बालुवाको स्थानीय ठेकेदारले ८ हजार रुपैयाँसम्म दिन्छन् ।

एक टिपर वालुवा भर्न ३ सय थुन्से बालुवा बोक्नु पर्छ । एक दिनमा एकजनाले २ देखि ३ हजारसम्म रुपैयाँसम्म कमाउँछन् । ठेकेदारले ३२ सय रुपैयाँ गाउँपालिकामा निकासी कर तिर्छन् । बालुवा झिक्नेलाई ८ हजार दिन्छन् । करिव ११ हजार खर्च लगानी गरेका ठेकदारले काठमाडौं पुर्‍याएर बालुवा प्रति टिपर २६ हजारमा बेच्छन् ।ज्यानकै बाजी लगाएर खोला र नदीमा पसेर बालुवा निकाल्ने क्रममा हरेक वर्ष डुबेर मजदुरको ज्यान जाने गरेको छ ।

प्रकाशित : श्रावण १, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्