बाढीले खेदेपछि... [फोटोफिचर]

बाढीको कहर
शिव पुरी

रौतहट — तराई/मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । आगलागी, हावाहुरी, शीतलहर र बाढीका कारण वर्षेनी ज्यान गुमाउनेको संख्या ठूलो छ । यस वर्ष मात्र बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाइसकेका छन् । १ जना बेपत्ता छन् । लगातारको वर्षापछि लालबकैया र वाग्मती नदी बस्ती पस्दा जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको छ ।

प्रकाशित : असार ३१, २०७६ १९:२०

जिल्लामा बाढीबाट झन्डै ७० हजार घर प्रभावित भएको छ भने ७ हजार मानिस विस्थापित भएको प्रारम्भिक अनुमान छ । ४ सय घर पूर्ण रूपमा ध्वस्त भएको छ । जिल्लाको ईश्नाथ नगरपालिका र दुर्गाभगवति गाउँपालिकामा बाढीको बितण्डा धेरै नै देखिएको छ । दुर्गाभगवती गाउँपालिका ५ स्थित बडहर्वा गाउँमा झण्डै ४ सय घरधुरी छन् । तीमध्ये ३ सय ३८ घर बाढीले डुबान र केही बगाएर लगेको छ । अहिले २ सय घर परिवार वागमती नदीको बाँधमा त्रिपाल टाँगेर बसेका छन् ।

विस्थापितमध्ये अधिकांशको त्रिपाल च्यातिएर कामै नलाग्ने छ । बाढीको त्रासले चार दिनदेखि पीडितहरु अनिँदो छन् । अधिकांशले खान पाएका छैनन् । अन्न डुबाएपछि थप समस्या छ । बस्ती नजिकको विद्युत्‌ ट्रान्सफर्मर ढलेको छ । विस्थापितलाई शुद्ध खानेपानी समस्या छ । २०४८ सालदेखि यो बस्तीका मानिस वागमती नदीबाट भागेको भागै छन् । अहिले त्यही बाँधको भर परेर विस्थापित कष्ट संगले त्रिपाल टाँगेर बसेका छन् ।

गएको शुक्रबार रातिको बाढीले घर डुबानमा परेपछि उनीहरु माथि उक्लेर रातभर जाग्राम बसे । प्राकृतिक बिपत्तिले कतिसम्म गर्छ भन्ने यो गाउँ उदाहरण बनेको छ । २०४८ सालमा बडहर्वा गाउँ पहिलो पटक बागमतीमा आएको बाढीले डुबानमा पार्‍यो । त्यसबेला झण्डै ५ सय बिघा जमिन बगायो । ५ जनाको मृत्यु भयो । त्यसपछि उनीहरु केही पर आएर बसे । २०५० सालको बाढीले फेरि गाउँ डुबानमा पार्‍यो । त्यसपछि उनीहरु बाँधको आडैमा आएर बसे ।

२०७४ सालमा बागमती नदीको बाढीले सिंगो गाउँ डुबानमा पार्‍यो । त्यस बेला ६ जनाको मृत्यु भएको थियो । अहिले फेरि यति ठूलो बिपत्ति ल्यायो,’ पीडित ईन्द्रजी दास भन्छन्, ‘प्रकृतिक प्रकोपले पनि खेदेको खेदै गर्‍यो । अब राहतभन्दा पनि सुरक्षित बासको ब्यवस्था गरिदिए हुन्थ्यो ।

प्रतिक्रिया
पठाउनुहोस्

राप्रपा संयुक्तको बैठक काठमाडौंमा

रासस

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले साउन ५ गते उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक काठमाडौँमा बोलाएको छ । 

केन्द्रीय कार्यालय चाबहिलमा बस्ने उक्त बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जवरा र डा प्रकाशचन्द्र लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार आर्थिक कार्य तथा नीतिबारे छलफल हुने बैठकमा देशभर भएका सङ्गठन समायोजनसम्बन्धी प्रगतिबारे तथा पछिल्लो अवस्थामा सङ्गठनले गरेका गतिविधिबारे सचिवालयले प्रतिवेदन प्रस्तुत गर्नेछ।

डा लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गत माघ १८ गते एकीकरण भई निर्माण भएको उक्त पार्टीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई वैचारिक नीतिका रुपमा अवलम्बन गरेको भए पनि पार्टीभित्र केही नेताले परिवर्तित संरचनामा गणतन्त्रको पक्षमा समेत बहस सुरु गरेका छन्।

बैठकले राप्रपा परिवेशका तथा समान विचार भएका अन्य पार्टीसँग एकीकरण भई आगामी महाधिवेशन गर्ने वा निर्धारित समयभित्र गर्ने भन्नेबारे पन टुङ्गो लगाउनेछ।

प्रकाशित : असार ३१, २०७६ १९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्