कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कालंगा जलविद्युत आयोजनामा तोडफोड, १५ करोडको क्षति (तस्बिरहरु)

वसन्तप्रताप सिंह

बझाङ — गत हप्ता सोमबार राति भएको युवती हत्याको घटनालाई लिएर आक्रोशित बुङ्गलका स्थानीयले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन् । तोडफोडबाट आयोजनामा १५ करोड बराबरको क्षति भएको आयोजना कार्यालयले जनाएको छ ।

स्थानीय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले शुक्रवार बिहानैदेखि आयोजनाका क्याम्प, गाडी तथा मेसिनहरुमा तोडफोड सुरु गरेका थिए । भिड नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच सेल अश्रू ग्यास समेत प्रहार गरेको छ ।

उत्तेजक भिडले रनलेकमा रहेको मुख्य क्याप्प र कार्यालय, विराबगरमा रहेको निर्माण क्याम्पमा तोडफोड गरेर कार्यालय तथा बन्दोबस्तीका सामानहरुमा क्षति पुर्‍याएका छन् । यस्तै डोजर, टिपर र जिप समेत गरी १७ वटा सवारी साधन तोडफोड गरिएको आयोजनाका संस्थापक वीरेन्द्र मल्लले बताए । प्रशर्दनकारीहरुले प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गरेका छन् ।

‘१५ करोड बराबरको क्षति छ’ मल्लले भने, ‘तोडफोड अझै चलिरहेको छ । हाम्रा मान्छेहरू त्यहाँबाट लखेटिएका छन् । अहिले पनि अवस्था सामान्य हुन सकेको छैन’ उनले हत्याको निहुँ बनाएर जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोजेको बताए ।

सानी गाड, कालंगा र अपर कालंगा गरी तीनवटा खोलाको विभिन्न ठाउँमा एकै पटक निर्माणको काम भइरहेको यो आयोजनाको एक ठाउँमा भिड नियन्त्रण गरे अर्को ठाउँमा गएर तोडफोड गर्ने काम भैरहेकोले स्थिति नियन्त्रणमा लिन समस्या भएको र बढी क्षति भएको डीएसपी सूर्यबहादुर केसीको भनाई छ ।

गत हप्ता मङ्गलवार बिहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल नगरपालिका २ की ललिता धामीको हत्याको विषयलाई लिएर आन्दोलन भएको हो । डडेलधुरा जिल्ला परशुराम नगरपालिकामा पर्ने जोगबुढाका माधव बोहराले हत्या स्वीकार गरी सकेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बोहरा कालंगा हाइड्रोमा एक्साभेटर अपरेटरको काम गर्दै आएका थिए ।

करिब ७५ मेगावाट क्षमताको यो जलविद्युत आयोजना निजी क्षेत्रको लगानीमा बन्दै गरेको देशकै पहिलो ठुलो आयोजना हो । तीन ठाउँमा एकै पटक संरचना निर्माण हुँदै गरेको यो आयोजनाको काम २०७७ साल असोजसम्म सकिने गरी थालिएको थियो । हाल सम्म आयोजनाको ७० प्रतिशत काम पुरा भैसकेको छ ।


प्रकाशित : असार २२, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्