२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खोटाङमा यसरी मनाइयो धान दिवस (तस्बिरहरु)

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कोलेबारीमा १६ औं धान दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोलेबारी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा धान दिवस मनाइएको हो ।

धान दिवसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतका विभिन्न कार्यालय प्रमुखहरु सहभागी भएका थिए । नगरप्रमुख रिजालले जोत्नुका साथै धान रोपेर दिवस मनाएका हुन् । नगर उपप्रमुख राईले धान रोप्नुका साथै हिलो खेलेर रमाइलो गरिन् ।

असारे भाकाको साथमा बालबालिकादेखि तन्नेरी र पाकाहरु समेत रमाएका छन् । यो वर्ष लामो खडेरीले धान रोपाइ प्रभावित भएकाले धान रोपाइ हुन सकेको छैन । कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईका अनुसार यो वर्ष १० प्रतिशत मात्र धान रोपिएको छ । जिल्लामा १२ हजार आठ सय ९८ हेक्टरमा धान खेती गरिन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अर्गानिक अभियान सुरु गरेकाले रसायनिक मल भन्दा कम्पोष्ट मल प्रयोग गर्न नगरप्रमुख रिजालले अनुरोध गरे । ‘नगरक्षेत्र अर्गानिक बन्ने भएकाले रसायनिक मललाई विस्थापित गर्दै कम्पोष्ट मल प्रयोगमा जोड दिनुपर्छ ।’ नगरपप्रमुख रिजालले भने,‘यसका लागि कम्पोष्ट मल उत्पादनको चरणमा पुगेको छ ।’ नगरप्रमुख रिजालले थपे,‘अब पाँच वर्षभित्र नगरपालिका पूर्ण रुपमा अर्गानिक हुने छ ।’

दिवसकै अवसरमा कोलेबारी कृषि सहकारी संस्थालाई नगरप्रमुख रिजालले कृषि आधुनिक औजार हस्तान्तरण गरेका छन् । कम्माइन मेसिन (धान, मकै, कोदो पिस्ने), कन्सिलर मिसिन (मकै छोडाउने), ओइडिङ मेसिन (जोख्ने) र पावर टिलर (जोत्ने) हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : असार १५, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्