१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

त्रिवि सेवा आयोग विरुद्धको अनशनमा नेतादेखि शिक्षाविद्को ऐक्यबद्धता (तस्बिरहरु)

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अनियमित तरिकाले सञ्चालन गरेको परीक्षा विरुद्ध १८ दिनदेखि जारी विद्यार्थीहरुको अनशनमा राजनीतिक दलका नेतादेखि शिक्षाविद्हरुले ऐक्यबद्धता जनाएका छन् । परीक्षा खारेजीको माग गर्दै विद्यार्थीले थालेको रिले अनशनमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्यले ऐक्यबद्धता जनाएका हुन् । उनी अनशन स्थल किर्तिपुरस्थित सेवा आयोग कार्यालय पुगेका थिए ।

त्यस्तै पूर्व विद्यार्थी नेता तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि विद्यार्थीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । अनशनरत विद्यार्थीले त्रिवि सेवा आयोग खारेज गर्नुपर्ने, ‘भ्रष्ट पदाधिकारी’ लाई कारबाही र बर्खास्ती गनुपर्ने र अनियमित तरिकाले लिएको परीक्षाको नतिजा रद्ध गर्नुपर्ने माग राखेका छन् । वैद्य निकट अखिल क्रान्तिकारीको नेतृत्वमा विद्यार्थीहरु अनशनमा बसेका हुन् । दैनिक १२/१४ जनाको दरले विद्यार्थी अनशनमा बस्दै आएका छन् । शिक्षाविद् विद्यानाथ कोइराला र मनप्रसाद वाग्लेले पनि त्रिविले सञ्चालन गरेको अवैध परीक्षाको विरुद्ध विद्यार्थीहरुलाई समर्थन गरेका छन् । कोइराला अनशनस्थल पुगेका थिए भने वाग्लेले टेलिफोन गरेर ऐक्यबद्धता जनाएको क्रान्तिकारीका महासचिव पेशल दाहालले जानकारी दिए । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश शाह, नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष विवेक वली लगायतले पनि ऐक्यबद्धता जनाएका हुन् । ‘सेवा आयोगका अध्यक्ष, प्रशासकीय प्रमुख र त्रिविका उच्च तहका पदाधिकारीले आफ्ना नातागोतालाई जागिर खुवाउन अपारदर्शी तरिकाले पास गराएका छन्,’ दाहालले भने, ‘विश्वसनियता नभए परीक्षा रद्ध गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो ।’

त्रिवि आयोगले सञ्चालन गरेको कर्मचारी नियुक्तिको परीक्षामा अनियमितता भएको समाचार कान्तिपुरले प्रकाशित गरेको थियो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस विषयमा छानबिन गरिरहेको छ । सेवा आयोग कार्यालयबाट अख्तियारले परीक्षार्थीको उत्तरपुस्तिका लगायत परीक्षामा संलग्न कागजात जफत गरेर छानबिन गरिरहेको छ । अख्तियारको छानबिनपछि अधिकृत तहको अन्तरवार्ता स्थगित गरिएको छ । त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेललगायत उच्च पदाधिकारीका नातेदार परीक्षामा सफल भएका छन् ।

यसबाहेक पनि भनसुन र पहुँचका आधारमा ५० जना बढिलाई स्थायी गर्न लिखित परीक्षामा सफल गराइएको प्राध्यापक र विद्यार्थीहरु बताउँछन् । आयोग अध्यक्ष शर्मा नेकपा निकट हुन् भने प्रमुख कोइराला कांग्रेसनिकट हुन् । उनीहरूको सेटिङमा पूर्वएमाले, कांग्रेस र पूर्वमाओवादी निकट पदाधिकारी तथा विद्यार्थी संगठनका नेताको सिफारिसमा नतिजा प्रकाशित भएको एक प्रााध्यापकहरु बताउँछन् । आयोगका सदस्य चिन्तामणि पोखरेल समेत पहुँचवाला र आफन्तलाई पास गराउने सेटिङमा संलग्न रहेको उनीहरुको गुनासो गर्छन् । आयोगले विज्ञापन नम्बर १८/२०७३/२०७४ मा विभिन्न पदमा खुला विज्ञापन गरेको थियो । उपप्रशासक, आर्थिक नियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, लेखा सहायकलगायत १६ पदमा विज्ञापन गरिएको थियो ।

तस्बिरहरु : पेशल दाहाल/अखिल क्रान्तिकारी

प्रकाशित : जेष्ठ २३, २०७६ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्