टुँडिखेलमा यसरी मनाइयाे गणतन्त्र दिवस (फोटोफिचर)

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — गणतन्त्र दिवस २०७६ विभिन्न कार्यक्रमका साथ सैनिक मञ्च टुँडिखेलमा बुधबार मनाइएकाे छ। उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राजयका सबै अंगका प्रमुखहरु सरिक थिए। समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत उच्च पदस्थ अधिकारीहरु सहभागी थिए । समारोहमा सैनिक हेलिकप्टरबाट गणतन्त्र दिवसको ब्यानर प्रस्तुत गर्नुका साथै पुष्पवृष्टिसमेत गराइएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा मार्चपास साथै राष्ट्रियभाव जगाउने गीत–सङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो ।


प्रकाशित : जेष्ठ १५, २०७६ ०९:३१

प्रतिक्रिया
पठाउनुहोस्

गणतन्त्र दशक : व्यवस्था बदलियो, संस्कार बदलिएन

जनकराज सापकोटा

काठमाडौँ — दशक लामो माओवादी सशस्त्र द्वन्द्व, पटक–पटकका सडक संघर्ष र जनआन्दोलनका बलमा स्थापना भएको गणतन्त्रले समाजका विधि र व्यवस्था परिवर्तन गर्‍यो । गणतान्त्रिक व्यवस्थाअनुसार नागरिकको हैसियत, स्वभाव र चेतनास्तरचाहिँ कति बदलियो त ?

भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र विभागमा अध्यापनरत चूडामणि बस्नेतको ठम्याइ छ, ‘व्यवस्था बदलिए पनि नेपाली राजनीति उस्तै छ । त्यसैले जनताको स्वभाव परिवर्तन भएको छैन ।’

संस्थागत संरचनाहरूमा बदलाव आएको तर तिनीहरू सानो समूहले मनपरी गर्न पाउने हिसाबले निर्माण भएको उनी बताउँछन् । ‘नियम र विधि उल्लंघन प्रवृत्तिका रूपमा स्थापित भएको छ,’ उनी भन्छन्, ‘यस्तो प्रवृत्ति २०६२/६३ को जनआन्दोलनपछि झनै बढेको छ ।’ उनका अनुसार अमेरिकादेखि दक्षिण एसियासम्मै यस्तो प्रवृत्ति हाबी छ ।

यस्तो हुँदा नागरिक किन बोल्दैनन् वा प्रश्न गर्दैनन् त ? ‘व्यवस्था परिवर्तनले जनताको चेतना बदल्यो तर नेताहरूको संस्कार र स्वभाव बदलिएन,’ उनी भन्छन्, ‘जनताले त्यसैको सिको गर्न थाले ।’ यसैकारण पछिल्ला वर्ष सार्वजनिक भएका भ्रष्टाचारका ठूल्ठूला घटनामा पनि जनताले सामूहिक विरोध गर्न नसकेको उनको बुझाइ छ ।

सबै सत्ताधारी उस्तै र प्रतिपक्ष पनि भूमिकाहीन भएको अवस्थाले बोल्न सक्नेहरू पनि चुप लागेको हुन सक्ने उनको आकलन छ ।

नागरिक खबरदारीको अभ्यास निकै कमजोर भएको बताउँदै उनले भने, ‘सायद यो उदार प्रजातन्त्रको खराब पक्ष पनि हुन सक्छ वा सरकार, संविधान र कानुनले नै नागरिकलाई स्थान नदिएकाले आममान्छे स्वतः निष्क्रिय भएको हुन सक्छ ।’

नागरिक आन्दोलनमा होमिएका वामपन्थी अगुवा श्याम श्रेष्ठको बुझाइ पनि बस्नेतको भन्दा फरक छैन । श्रेष्ठको बुझाइमा नागरिक तहमा तीनथरी मान्छे छन्– पहिलो, नियम लागू हुनुपर्छ भन्ने र सधैं नियम र विधिमा बस्ने । दोस्रो, बेथितिविरुद्ध कराउनु बेकार छ भनेर बस्ने । तेस्रो, सरकार र दलहरूलाई गाली गर्ने, नियम मिचे, विधि पालना गरेनन् भन्ने अनि आफ्नो स्वार्थको मौकामा नियम–कानुन बिर्सेर अभीष्ट पूरा गर्ने ।

श्रेष्ठको बुझाइमा दोस्रो र तेस्रो थरी मान्छेहरूको वर्चस्व समुदायमा बढी छ । त्यसैले चरम असन्तुष्टि, सरकारको काम गराइको शैलीमाथि चित्त नबुझाउनेहरू पनि चुप बसेका छन् । उनले भने, ‘तैपनि जनता बोल्दै नबोलेको वा प्रश्नै नगरी बसिरहेका छन् भन्नेचाहिँ होइन । प्रश्न गर्ने र खबरदारी गर्ने काम समाजका विभिन्न भागबाट भइरहेको छ । त्यसले संस्थागत स्वरूप हासिल नगरेको र एकत्रित नभएको मात्रै हो ।’

श्रेष्ठको बुझाइमा गणतान्त्रिक चेतसहितको समाज निर्माणमा केही पनि काम भएको छैन । मन्त्रालय र सरकारी अड्डामा भनसुन वा चाकरी गरेर आफ्नो काम गर्न खोज्ने सेवाग्राहीको भीडलाई उनी त्यसैको परिणति मान्छन् । ‘चाकरीबाज र भनसुन संस्कार नै बनेको छ, यसलाई राजनीतिले मलजल गरेको छ र त्यो तल्लो तहसम्म फैलिएको छ,’ उनले भने ।

गणतन्त्र स्थापनापछिका वर्षमा भएका चुनावी प्रणालीको पनि लेखाजोखा हुनुपर्ने उनी बताउँछन् । तल्लोदेखि उपल्लो तहको चुनावसम्म पैसाका आधारमा मत प्रभावित पार्ने अभ्यास छ । त्यसले नेताहरूलाई भ्रष्ट बनाएकै छ, जनताको तहमा समेत संस्थागत गरेको छ । उनले भने, ‘जस्तोसुकै भ्रष्ट भए पनि हामी भोट हालेर जिताइछाड्छौं, अनि त्यस्तो नेताले भनेजस्तो गरेन पनि भन्छौं ।’

राजनीतिशास्त्री इन्द्र अधिकारी गणतान्त्रिक नागरिक दलीयकरणको सिकार भएको बताउँछिन् । नागरिकहरू आफ्नै समस्याको बन्धक भएका कारण नागरिक चेतना कमजोर बन्दै गएको उनको बुझाइ छ ।उनले भनिन्, ‘नेताहरू गलत गरिरहेका छन् भन्ने थाहा पाउँदापाउँदै पनि जनता बोल्न सकिरहेका छैनन् । किनकि धेरैजसो मान्छेआफ्नो निष्पक्ष बुझाइ व्यक्त गर्ने अवस्थामा छैनन् । उनीहरूलाई समाज र दलको डर छ ।’

त्यस्तो किन भयो ? उनको बुझाइमा राजनीतिक संस्कार र पद्धतिको जग बस्नै नपाएकाले यस्तो अवस्था आयो । ‘आफ्नै कैयन साथीभाइ दलका निर्णयमाथि विमति राख्छन् तर त्यसलाई सार्वजनिक गर्न हिचकिचाउँछन्,’ उनले भनिन्, ‘पहुँच र प्रभावबिना कुनै काम नहुने परिपाटीले पनि मान्छेलाई असहमति व्यक्त गर्न अप्ठेरो बनाइदिएको छ ।’
जनआन्दोलनपछि विधि बदलिए पनि संस्कार उस्तै रहेको उनले बताइन् । ‘नागरिक चेतनाको संस्थागत विकास गर्ने काममा दलहरू चुक्दै गए र फेरिएको पद्धतिमापरम्परागत राजनीति हाबी भयो ।’ उनका अनुसार वैचारिक रूपमा प्रजातान्त्रिक भनिए पनि हामीले हुर्काइरहेको पद्धति आफूलाई सजिलो बनाउनेतर्फ केन्द्रित छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्