कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडक धुलाम्मे भए पछि बौद्ध–जाेरपाटी खण्डमा अवराेध

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — बौद्ध-जोरपाटी सडकखण्ड छिटो कालाेपत्रे हुनुपर्ने माग गर्दै व्यापारी र स्थानीय आन्दोलित भएका छन् । बिहीबार बिहानदेखि उनीहरुले सडक अवरुद्ध पारेका छन् । तत्काल सडक कालाेपत्रे गरी धुलाे र हिलाेमुक्त बनाउनुपर्ने उनीहरुकाे माग छ ।

लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार संघ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ- 'चावहिल–साँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुँवाधुलोबाट मुक्त हुनुपर्‍यो।'

विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीय व्यवसायी तथा बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले दुखेसो पोखे । चौलागाईंले सडक धुलाम्मे र हिलाम्मे हुँदा व्यापार व्यवसाय ठप्प भएको मात्र नभई करोडौँ लगानी गर्ने दर्जनौँ व्यवसायी पलायन हुनुपरेको पीडा सुनाए ।

व्यापारी लक्ष्मण दुलालले भने, 'यो साङ्केतिक विरोध कार्यक्रम मात्र हो, भोलिका दिनमा थप कडा आन्दोलनसहित हामी प्रस्तुत हुनेछौँ,' उनले भने, 'सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको छ, हाम्रो एक सूत्रीय मागको तत्काल सुनुवाइ हुनुपर्छ ।'लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार संघले सो क्रममा पानी किन्न मात्र करीब ८० लाख रुपैयाँ खर्चिएको दाबी गरेको छ ।

प्रकाशित : वैशाख २६, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्