मुटुजस्तै ढुम्बा ताल [फोटोफिचर]

शब्द/तस्बिर : घनश्याम खड्का

म्याग्दी — मुस्ताङको सदरमुकाम जोमसोमदेखि दक्षिणपूर्व एक घण्टा हिँडेपछि पुगिन्छ, ढुम्बा ताल । ढुम्बाताल ठ्याक्कै मुटुको आकारको भएकोले ‘हट सेप्ट लेक’ भनेर पनि चिनिन्छ । घरपझोङ गाउँपालिका, ५ को साम्ले गाउँको सिरान तथा निलगिरी हिमालको फेदीमा अवस्थित ढुम्बा ताल समुद्र सतहदेखि २ हजार ८ सय ६२ मिटर अग्लो स्थानमा अवस्थित छ ।

ताल करिब एक सय ३० मिटर चौडा, एक सय ६० मिटर लामो र १० मिटर गहिरो छ । यसको फन्को मार्न १५ मिनेट लाग्छ । कुछुप तेरेङगा गुम्बा अघिल्तिरको ढुम्बा तालको पानीलाई बौद्ध धर्मालम्बीले पवित्र जलको रूपमा बुद्ध मूर्ती अघिल्तिर कचौरामा राखी चढाउने गर्छन् ।

ढुम्बा तालमा पूर्व फर्केर हेर्दा थोरङ्ला पीक र निलगिरी नर्थ, पश्चिम फर्केर हेर्दा मानापाथि र दक्षिण फर्केर हेर्दा धौलागिरी तथा टुक्चेपीक तथा उत्तर फर्केर हेर्दा ठिनी गाउँको छाया टलक्क देख्न सकिन्छ । कुछुप तेरेङ्गागुम्बाले तालमा विभिन्न जातका माछा छाडिएको छ, तालको सरसफाइ र माछाको हेरविचार गर्न र आहारा खुवाउन कर्मचारी राखिएको छ ।

‘ढुम्बा तालको धार्मिक महत्त्व र प्राकृतिक सौन्दर्यलाई जोगाउन संरक्षण, प्रवर्द्धन तथा सुन्दरता थप्न गुरुयोजना निर्माण गरिरहेका छौँ’ घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले भनिन्, ‘ढुम्बा ताल मुस्ताङकीको धार्मिक आस्था र संस्कृति पनि हो । यहाँको पानी पानी नभएर भगवान् बुद्धलाई चढाइने पवित्र जल हो ।’


प्रकाशित : वैशाख २५, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्