यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सुधारको काम [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग 'रिह्याब्लिटेसन' (सुधार)को काम राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल नै बन्द गरेर भइरहेको छ । बर्खा सुरु हुनु अगावै धावनमार्ग सुधारको काम सक्ने लक्ष्य चिनियाँ निर्माण कम्पनी एभीआईसीले राखेको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १२:१२

प्रतिक्रिया
पठाउनुहोस्

सम्झनामा प्रथम सहिद भीमसेन दाहाल

भीम घिमिरे

पोखरा — गहिरिएर बगेको सेती नदिमाथि पोखराको बजार क्षेत्रमा चिप्लेढुंगा र रानीपौवालाई जोड्न पक्की पुल छ । पुलको वारि एकातिर पुस्तकालय र अर्कातिर आर्ट ग्यालरी छ । पुस्तकालयको भर्‍याङ छेउ एउटा सालिक छ । त्यो सालिक जनआन्दोलन–२ का प्रथम सहीद भीमसेन दाहालको हो ।

वर्षेनी चैत २६ मा उनको प्रतिमामा माल्यार्पणको कार्यक्रम आयोजना गरिन्छ । उनलाई नजिकबाट चिन्नेहरू स्मरण गर्छन् । राजनीतिक परिवर्तनले शासन सत्तामा आलोपालो जिम्मेवारी पाएका दलका नेता–कार्यकर्ता भाषणमा उनको योगदान अतुलनीय रहेको भन्न छुटाउँदैनन् । नेपाल टेलिकममा जागिर थालेका दाहालले एउटा परियोजनामा अल्पकालीन जागिरबाट राम्रो आम्दानी हुने बाटो देखेका थिए । सामान्य आर्थिक अवस्था रहेको घरका उनी कान्छा छोरा थिए । जागिरबाट बेतलवी विदा लिए । परियोजनाको जागिरे भएर पोखरा आए । परियोजनाको कामले धनगढी पुर्‍यायो । ६ महिना बसेर फेरि पोखरा नै फर्किए ।
रानीपौवाको एउटा घरमा तीन युवक डेरा गरि बसेका थिए । काभ्रेका दाहाल, दाङका विक्रम पंत र विराटनगरका गौतम योञ्जन । ‘भीमसेनको एउटा गुण अनौठो थियो, उ कहिलेपनि अनुहारमा उदासी आउन दिँदैनथ्यो,’ गौतम सम्झन्छन्, ‘उसले प्रोजेक्ट छाडेर टेलिकम फर्किएर पनि आफ्नो इलेक्ट्रोनिक्सको व्यापारको काम थालेको थियो ।’ घरेलु र व्यवसायिक समस्याका तनाव उसले कहिल्यै आफूमा हावी हुन नदिने बानी अचम्मको लाग्ने उनले बताए । ‘उ राजनीतिक मान्छे थिएन, उसका सपना आम नेपानी जो सजिलोसँग इमानदार पेशा गरिखान चाहन्छन्, त्यही थियो,’ उनी भन्छन्, ‘चासो राख्थ्यो तर, सत्ता र सरकारको कुरा धेरै गर्दैनथ्यो । गरिखान सजिलो कसरी हुन्छ त्यही विषयमा उ बहस गर्थ्यो ।’ साइबर चलाउने भएकाले धेरै प्रकारका पेशा व्यवसायमा लागेकाहरूसँग मित्रवत सम्बन्ध भएपनि दाहाल आफ्नो पेशामा इमानदार रहेको उनले बताए ।
पोखराको बजारमा अब साइबर क्याफे छैनन् भन्दा पनि हुने भइसकेको छ । २०६० तिर हात हातमा मोबाइल सहज भइसकेको थिएन । टेलिकमले ल्याण्डलाइन फोन पनि माग्नेवित्तिकै ग्राहकलाई उपलब्ध गराइहाल्ने सुविधा थिएन । फोन र मोबाइल सीमित हुँदा गति लिएको व्यवसाय साइबर क्याफे थियो । त्यो गरे राम्रै फाइदा पाउने दाहालले बुझेका थिए । पृथ्वीचोकको आनन्द बतासको होटलको भुइँतलामा उनले क्याफे चलाएका थिए । पोखराका होटलहरूमा इन्टरकम जडानको काम गरिरहेका थिए । प्राविधिक काम गर्दागर्दै उनले आफ्नै व्यवसाय गर्न जागिर छाडेका थिए । ‘त्यो घटनाको दिन सम्झँदा पनि बडो नरमाइलो लाग्छ,’ पंत भन्छन्, ‘उ अग्लो थियो । भीडमा परैबाट उसलाई चिनिनु अग्लो हुनुको मात्रै खुबी थिएन, साथीभाइसँग घुलमिल हुने र समस्या पर्दा सहयोग गर्न अघि सर्ने उसको गुण मायालु थियो ।’ दाहाललाई स्मरण गर्दा उनको सहयोगी बानी बिर्सन नसक्ने उनले बताए ।
२०६२ चैत २६ को दिन महेन्द्र पुलमा रहेको टेलिकमको भवन बाहिर आन्दोलनकारीको नाराबाजी सुरु हुँदा छतमा तैनात सुरक्षाकर्मीले गोली चलाएका थिए । सडकमा दाहाल डलेका थिए । ‘त्यो भीड उग्र थिएन तर, न चेतावनी न लाठीचार्ज एकैपल्ट गोली हानिएपछि आन्दोलनको आगोमा घ्यु थपेको स्थिति भएको थियो,’ पंतले भने, ‘अस्पतालमा हामीले लास हेर्न जाँदा उसका साथी सबै शोकाकुल थियौं ।’
दाहालका दुई श्रीमती र तीन छोराहरू छन् । काभ्रेमा जेठी पत्नी देवकी र छोराहरू दीनेश र विवेक । पोखरामा कान्छी सविता र छोरा विस्तृत । जनआन्दोलनको प्रथम सहिद बन्दा दाहालका कान्छा छोरा डेढ वर्षका थिए । पहिले साइबर क्याफे रहेको ठाउँमा हिजोआज सेल्फ म्यानेज रेमिटको कार्यालय छ । यसका साझेदार सञ्चालक इलामका कमल गुरूङ र दाहाल पत्नी सविता हुन् । देवकीलाई जनआन्दोलनपछि सरकारले टेलिकममा करारको जागिर दिएको छ । जेठा छोरा दीनेश मेकानिकल इञ्जिनियरिङमा स्नातकोत्तरका लागि यतिबेला चीनमा छन् । माहिला छोरा १२ मा पढ्छन् भने कान्छोले एसइइ दिएका छन् । दुइतिर बसेको एउटै परिवार सहीद सम्झने औपचारिक कार्यक्रममा निकै कम सहभागी हुन्छन् । काभ्रेमा रहेकी सविता र पोखराकी देवकी दुवैको एउटै भनाइ छ – ‘सहिदका परिवारले आफ्नो को गुमायौं भनेर नसोधियोस् । उनीहरूको अवस्था सोध्न राज्यकै संयन्त्र हुनुपर्छ । आफैं गएर सुविधा माग्दा चित्त दुख्छ ।’
१२ वर्षदेखि टेलिकममा अवधि थप हुँदै करारको जागिरमा रहेकी देवकी स्थायी होस् भन्ने चाहन्छिन् । राज्यले दिएको आर्थिक सुविधा लिन चार वर्षदेखि दुवैजना सम्बद्ध निकायमा गएका छैनन् । सरकारले पनि उनीहरू किन लिन आएनन् भनेर खोजी गरेको छैन । ‘हामीभन्दा पनि नराम्रो अवस्था अरु परिवारको होला, उनीहरूका लागि राज्यले सोच्नुपर्छ,’ देवकी भन्छिन्, ‘सहिदको बलिदानले देशमा सबै नागकिरले सुव्यवस्था चाहेका हुन् । त्यो हुनुपर्छ ।’ सहिदका परिवार सधैं आफ्नो वेदना सुनाएर फाइदा लिने पक्षमा नभएको राज्यले बुझ्नुपर्ने उनले बताइन । राज्यबाट सुविधा नलिएकी सविता भीमसेन स्मृति प्रतिष्ठानकी अध्यक्ष छिन् । उनी उक्त प्रतिष्ठानमार्फत सामाजिक काम गर्न चाहन्छिन् । ‘सबै ठाउँमा आफैं पुगेर बिलौना गाउँदै जीवन चल्दैन,’ उनी भन्छिन्, ‘सहिदप्रति सम्मान गर्न चाहने हो भने राज्यले नै व्यवस्था गर्नुपर्छ । राज्यले सबैथोक गर्नुपर्छ भनेर हामी हात बाँधेर बस्छौं भन्ने पनि होइन तर, खोजी गर्ने संयन्त्र भएमात्रै सम्मान अनुभव हुँने रहेछ ।’

प्रकाशित : वैशाख ११, २०७६ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्