कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

यस्तो देखियो तस्बिरमा लाप्राक एकीकृत बस्ती

हरिराम उप्रेती

लाप्राक (गोरखा) — धार्चे गाउँपालिका-४ लाप्राकस्थित गुब्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीको काम अन्तिम चरणमा पुगेको छ । सबैजसो घरमा रङरोगन गरिएपछि बस्तीको आकर्षण बढेको छ । बुधबारसम्ममा सबै घरको छाना छाउने काम सक्न कामदारहरु दिनरात खटिएका छन् ।

पुरानो बस्ती जोखिममा परेपछि गैरआवासीय नेपाली सघं (एनआरएनए)ले लाप्राकका पाँच सय ७३ घरधुरीका लागि गुब्सीपाखामा घर निर्माण गरेको हो । हालसम्म उक्त बस्तीको ८५ प्रतिशत काम सकिएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । सबै घरमा ट्रस्ट राख्ने काम सकिएको छ । पाँच सय ५० घर धुरीको दोस्रो तला र चार सय ५० घरको छाना छाउने काम सकिएको उनले बताए ।

'रङरोगन चार सय २० घरमा भइसकेको छ,' उनले भने, 'कलेजी रातो र सेतो रङ लगाएका छौँ ।' घर भित्रको काम भने करिब ७५ प्रतिशत सकिएको उनले बताए । 'तला छाप्न काठ राख्नुपर्ने छ, स्थानीयले त्यसको लागि श्रमदान गर्नुपर्छ,' उनले भने, 'जंगलमा काटेर राखेको काठ ल्याएर राख्न बाँकी छ ।' काठ ढुवानी गर्ने विषयमा स्थानीयसँग छलफल चलिरहेको उनले बताए । 'फस्ट टार्गेट भेट्टाउन वैशाख ११ भित्र सबै घरमा छाना छाइसक्छौँ,' उनले भने । घर बने पनि उक्त बस्तीमा शौचालय निर्माण भएको छैन । १२ गते एनआरएनएका प्रमुखसहितको छलफलले शौचालयको विषय टुङ्गाउने तयारी गरिएको छ । 'वैशाख ११ भित्र बाहिरी काम सबै सक्छौँ,' उनले भने । उक्त बस्ती निर्माणका लागि तीन सय २० एनआरएनका कामदार र एक सय ६० नेपाली सेना खटिएका छन् ।

हालसम्म एक घर निर्माणका लागि ९ लाख खर्च भइसकेको छ । 'स्थानीयको श्रमदानसमेत जोड्दा १५ लाख जति पर्न जाँदो रहेछ,' उनले भने । लक्ष्य अनुसार घर ठड्याउने काम सकेर पूर्वाधार विकासलगायत काम थाल्ने एनआरएनएको योजना छ । अबको एक महिनाभित्र राष्ट्रपति ल्याएर स्थानीयलाई घर हस्तान्तरण गर्ने एनआरएनएको योजना छ ।

प्रकाशित : वैशाख १०, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्