१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नुवाकोट भैरवी र जालपादेवीमा जात्रा

कृष्ण थापा

नुवाकोट — बैशाख पूणिर्माको अवसरमा नुवाकोट भैरवी र जलपादेवीको जात्रा सुरु भएको छ । विदुरनगरपालिका २ नुवाकोट साततल्ले मूनि रहेको बूढी भैरवीथान र व्रम्हटोलमा रहेको भैरवीमा ४२ हात लामो लिंगोसहित आलम (नागको प्रतीक) ठड्याएपछि जात्रा सुरु भएको हो ।

यो जात्रालाई भैरवी वर्ष बन्धन अर्थात् सिन्दुरे जात्रा भनेर चिनिन्छ । साततल्ले दरबारको उत्तरपट्टी रहेको तुलजा भवानीमा धामी, धमिनी, गणेश र कुमारसहित तान्त्रिक विधिअनुसार महाबलि लिएपछि रथ लिएर शुक्रबार राति देवीहरुको भेटघाट गर्ने ठाउँ देवीघाटमा रहेको जलपादेवीलाई भैरवीको अष्टमात्रिका, बाह्र गण लिएर रथ र धामीसहित छ घण्टाको बाटो पैदल हिडेर देवीघाट जाने चलन छ ।

शुक्रबार राति पुगेका धामी हरिमानसिं डंगोल र पूजाविधि गर्ने गुभाजुसहित देवीघाटमा छन् । देवीघाटमा बलिपूजा सहित धामीले बलि लिइरहेका छन् ।

नयाँ वर्षको भविष्यबारे धामीले राति १२ बजे, देवीघाटमा देवीले राष्ट्रको बारेमा भविष्यवाणी गर्ने र सो लिखित राष्ट्र प्रमुखलाई पठाउने चलन रहेको राजप्रतिनिधि महेन्द्रबहादुर शाहीले बताए ।

शनिबार राति भैरवीदेवीको रथसहित धामी फर्किएर भैरवी मन्दिर मूनि रहेको धरमपानीमा बस्छन् । आइतबार सरकारी तवरबाट सलामी दिएपछि बाजागाजा सहित रथ लिएर नुवाकोटडाँडामा रहेको भैरवी मन्दिरमा राजप्रतिनिधि शाहीले सिन्दुर छर्केर धामीलाई हालेपछि सिन्दुरे जात्रा गर्ने चलन रहेको छ ।


प्रकाशित : वैशाख ७, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्