१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यसरी मनाइयो लुम्बिनीमा थाई नयाँ वर्ष संक्राङ [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — विश्व शान्तिका लागि प्रार्थना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा थाइल्यान्डको नयाँ वर्ष संक्राङ मनाइयो । नेपालको नयाँ विक्रम सम्वतसँगै उनीहरु नयाँ वर्षलाई संक्राङ पर्वका रुपमा मनाउने गर्छन् । थाइल्यान्डमा राष्ट्रिय रुपमा विभिन्न कार्यक्रम गरेर मुलुकभर ५ दिनसम्म नयाँ वर्ष मनाइन्छ । त्यसैअन्तर्गत यहाँ कार्यक्रम गरिएको हो ।

लुम्बिनीस्थित शान्तिद्वीप नजिक रहेको बेबी बुद्धमा पूजाआजा गरियो । उक्त अवसरमा बेबी बुद्धलाई धार्मिक बिधिपूर्वक नुहाई पूजाआजा गरी नुहाइदिइयो । ३ मिटर लामो पित्तलको पाइपबाट पानी झारेर बेबी बुद्धको पाउ भिक्षु भिक्षुणीले धोएर पवित्र बनाएका थिए । सजाएर आकर्षक रुपमा सजाइएको पाइपबाट बेबी बुद्धको पाउसम्म पानी पुर्‍याइएको थियो । भिक्षु भिक्षुणीले पुष्पवर्षा गरेका थिए । समग्र मानव जीवन र प्राणीको सुख शान्ति र कल्याणका लागि पाठ गरेका थिए । त्यसपछि रोयल थाई विहारमा पुगेर शान्तिको कामना गर्दै परित्रान पाठ गरिएको थियो ।

लुम्बिनीमा रहेका विभिन्न मुलुकका थेरवादी सम्प्रदायका १५ भिक्षुलाई चिबर (पहेलो बस्त्र) दान गरियो । संक्राङका बेला थाइहरु पानी छ्यापाछ्याप गरेर शुभकामना आदानप्रदान गरेका थिए । 'गौतम बुद्धलाई सधैं शान्तिका लागि उत्प्रेरित गर्ने नेपाली भूमिप्रति विदेशीको अपार श्रद्धा र नमन छ' अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षुमैत्री महाअस्थवीरले भने, 'नेपालीले पनि त्यस्को अनुशरण गर्नु पर्छ । यसले अध्यात्मिक ऊर्जा र पवित्रतालाई उजागर गर्छ ।' संसारभरका शान्तिकामी र विकासप्रेमीको अध्ययन केन्द्र हुन्छ । 'संसारमै नेपाल र नेपाली सबैको शिर उच्च छ' लुम्बिनीस्थित रोयल थाई विहार प्रमुख फ्रा बोधी विड्सले भने, 'बुद्ध जन्मे हुर्केको माटो नेपालमा छ । यसलाई मुलुक समृद्धीको आधार बनाउनु पर्छ ।'थाइल्यान्डले नयाँ वर्ष वसन्त चाड अर्थात् 'कुकुर वर्ष' का रुपमा मनाएको छ । नयाँ वर्षमा थाइल्यान्डभरि २ दिन राष्ट्रिय बिदा दिइन्छ ।

प्रकाशित : वैशाख ३, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्