कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खोला छोपेर बस्ती [फोटोफिचर]

शिल्पा कर्ण

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसीमा साढे ५ सय मिटर जति खोला हराउँछ । अगाडि गएपछि फेरि भेटिन्छ । 'गायब हुने यो खोला' अर्थात् सामाखुसी खोलाको यही विशेषताले गर्दा यो वडाका धेरै भाग वर्षायाममा डुबानमा पर्छन् । नालाको पानीले सडक डुबाउँछ भने केहीको घरको भुईंतला पनि जलमग्न हुन पुग्छ ।

रेडन स्कुल र कलेजलाई पुलले छुट्टयाएको छ । निश्चय नै खोला पार गर्न भनि पुल बनाइएको हुन्छ । तर त्यहाँ दाँयाबाँया कतै खोला देखिन्न । केवल एकातिर बार भएको पक्की पुल छ । खोलाको पूर्वतिर केही मिटर पर गए फर्निचर पसल छ ।

त्यहिँबाट ढलान गरेर खोला छोपिएको छ । त्यसैले पश्चिमतर्फ जाँदा कतै पनि खोला भेटिन्न । बीचबीचमा पानी पास हुनेगरि कतै कतै निकास बनाइएको देख्न सकिन्छ । यो सबै निर्माण स्थानीय बासिन्दाले नै गरेका हुन् । पानीमाथिको यो ओभानो बस्तीमा अधिकांश सुकुम्बासी छन् ।

पश्चिम जाने पुष्पाञ्जली मार्ग र नवसंगम मार्गसम्मको सडकमा एकातिर कच्ची छ भने अर्कोतिर ढलान गरिएको सडक छ । ढलान गरिएको सडक मुनितिर खोला छ । सुकुम्बासी बस्तीमै ४ तलासम्मका घर छन् । अहिले नयाँ घर पनि बनिरहेका छन् । एकठाउँ गिट्टी, बालुवा र ईंटा थुपारिएको छ । न वडाले रोक्न सकेको छ, न त प्रशासनबाट कुनै किसिमको रोकटोक भएको छ ।

अर्को पुल अर्थात् साढे ५ सय मिटर पर झन्डै १० मिनेट हिँड्दै गएपछि मात्र खोलाको अर्को छेउ भेटिन्छ । यस बीचमा आधा दर्जन जति स-साना पुल पर्छन् । जुन खोलाको एक छेउबाट अर्को छेउ जोड्न विभिन्न समयमा निर्माण गरिएका हुन् । तर खोला भने भेटिन्न ।

त्यो बाटोको मुखैमा एकातिर कलेज अर्कोतिर व्यवसायीक भवन र एउटा स्कुल पनि छ । कलेजले सडकमा पार्किङ र गमलामा वृक्षारोपण गरेको छ । 'खोला छेउ दुईतिर ४/४ मिटर बाटो हुनुपर्ने ठाउँ हो त्यो । अहिले पार्किङ जस्तो बनेको छ,' वडाध्यक्ष ख्यामराज तिवारीले भने ।

ढलान गरिएको उक्त स्थान छेउ झन्डै ४ दर्जन घर बनिसकेका छन् । वडाले त्यो बस्ती सुकुम्बासी भएको बताएको छ । स्थानीय सरकारका प्रतिनिधि यतिका वर्ष जानकारी भएपनि चुप लागेर बसेका थिए, अहिले पनि चुप नै छन् । तर वडाध्यक्ष तिवारीले आफूहरूले नयाँ बन्न लागेको घर निर्माण रोक्न लागेको बताए ।

प्रकाशित : चैत्र २७, २०७५ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्