१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पेट्रोलियम पाइपलाइन विस्तारकाे काम धमाधम [फोटोफिचर]

विमल खतिवडा

अमलेखगन्ज, बारा — मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्म पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएपछि ढुवानी भाडा कम हुने र पेट्रोलियम पनि केही सस्तो हुने अनुमान गरिएको छ ।

हाल पर्सा राष्ट्रिय निकुञ्जको ७ किमि क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जारी छ। भारत र नेपाल सरकारबीच २०७२ मा सम्झौता भएअनुसार इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ। मोतीहारीदेखि नेपाल सीमासम्म पाइप बिछ्याउने काम सकिएको छ।

तेल राख्न अमलेखगन्ज डिपोमा तीनवटा भर्टिकल ट्यांक मर्मत गरिइसकिएको जानकारी यादवले दिए। उनका अनुसार एउटा मर्मत हुँदै छ। जसमा ४९ लाख लिटरको २ वटा र ४१ लाख लिटर अट्ने २ वटा ट्यांक निर्माण गरिएको हो।

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलका अनुसार पाइपहरू पूर्ण रूपमा जमिनमुनिबाट बिछ्याएर ल्याउने कार्य भइरहेको छ। ‘रक्सौलदेखि अमलेखगन्जसम्म २ दशमलव ५ मिटर गहिराइमा पाइप राखिएको छ,’ उनले भने, ‘बिछ्याउन रेखांकन गरिएका घर, बजार, खोलालगायतका अप्ठ्यारा ठाउँहरूमा एचडीडी कार्य गरी पाइप जडान गरिएको छ।

पाइप लाइनमा एक घण्टामा २ लाख लिटर तेल आउनेछ। जसमा जम्मा भएअनुसार ३५ लाख लिटर तेल बिक्री गर्न सकिनेछ। सुरु लागत सम्झौता २ सय करोड भारु भारत सरकार र ७५ करोड नेपाल सरकारले व्यहोर्ने गरी सम्झौता भएको थियो। अहिले लागत बढेर ३ सय २४ करोड भारु पुगेको छ। अहिले खर्च भारतले व्यहोरी रहेको छ।

प्रकाशित : चैत्र २४, २०७५ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्