कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदरसाका लागि सम्मेलन[फोटोफिचर]

प्रतिक्षा काफ्ले

स्याङ्जा — मदरसा स्थापनाका लागि सहयोग जुटाउन पुतलीबजारमा मुस्लिम समुदायको धार्मिक सम्मेलन सुरु भएको छ । मदरसा स्थापनाका लागि तहफ्फुजे सुन्नीयत रहमत आलम कन्फ्रेन्स (जलसा) गरिएको आयोजकले जनाएका छन् ।

मुस्लिम समुदायका अनाथ बालबालिकालाई छात्राबाससहित अध्यापन गराउन प्रारम्भिक तहको विद्यालय सञ्चालन गरिने समाजका अध्यक्ष शेरअली मियाँले बताए । जलसामा विभिन्न जिल्ला र विदेशबाट पनि प्रतिनिधि सहभागी छन् । स्याङ्जाका रहेका ७ मदरसामा प्रत्येकमा ६०/७० बालकालिका अध्ययन गर्छन् ।

२५ लाख खर्च र २५ लाख रुपैयाँ बचतसहित ५० लाख बराबरको आर्थिक कारोबार गरिने बताउँदै समाजका अध्यक्ष मियाँले १० देखी १५ हजार जनसंख्याको सहभागिता रहने बताए ।

विद्यालयसंगै संकलित रकम बचत भएमा भग्नावशेष पुर्वाधारको मर्मत गरिने आयोजकको लक्ष्य छ । धार्मिक प्रवचनमा युकेका मौलाना नुरानी मियाँ प्रमुख वाचक रहेका छन् । यसैगरी दोस्रो बाचकको रुपमा भारतबाट साउथ एसियाका मौलाना अबुल हक्कानी, नेपालबाट जनकपुरका शेरे नेपाल जैसे मोहम्मद सिद्धिकी रहेको आयोजकले बताएको छ ।

सिद्धिकी इस्लाम धर्मका नेपाल साउथ एसियाकै लोकप्रिय धर्मगुरु पनि हुन् । जल्सामा एक रातभरी मुस्लिम धर्मको प्रचारप्रसार गरिने, नयाँ पुस्तालाई धर्मबारे बुझाउने कार्य हुनेछ ।

प्रकाशित : चैत्र २३, २०७५ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्

कागमा समेत बर्डफ्लु

काठमाडौं, ललितपुर, भक्तपुर, सर्लाही र मोरङका केही कुखुरा फार्ममा संक्रमण पुष्टि
अतुल मिश्र

काठमाडौँ — राजधानीको नारायणहिटी राजदरबार क्षेत्रका कागमा बर्डफ्लु देखिएको छ । लैनचौरस्थित ब्रिटिस दूतावास र राहदानी विभाग क्षेत्रमा मरेका करिब २ सय कागमा बर्डफ्लु (एच५एन१) रहेको पुष्टि भएको हो । 

सरकारले विश्व पशु स्वास्थ्य संगठनमा पठाएको प्रतिवेदनअनुसार कागहरू चैत ३ देखि मर्न थालेका थिए । प्रयोगशाला परीक्षणबाट चैत ७ मा ती कागमा बर्डफ्लु (एच५एन१) रहेको पुष्टि भएको थियो । बर्डफ्लु संक्रमणबाट मरेका उक्त कागबारे जानकारी संगठनको वेबसाइटमा समेत राखिएको छ ।

पशु सेवा विभागका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममा केही दिनयता बर्डफ्लु भेटिएका छन् । बाँसघारीमा गुड बनाएका करिब दुई सय कागको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

राजधानीमा गतवर्ष र विगतमा पनि कागमा बर्डफ्लु देखिएको थियो । ‘यो वर्ष राजधानीका कागजस्ता जंगली पन्छी (वाइल्ड वर्ड) मा बर्डफ्लु देखियो,’ विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले भने, ‘परेवाको समेत मृत्यु भइरहेको छ तर हालसम्मको नमुना परीक्षणमा बर्डफ्लु देखिएको छैन ।’

जंगली पन्छीमा देखिएको बर्डफ्लु नियन्त्रण गर्न अत्यन्त अप्ठ्यारो हुने औंल्याउँदै डा. निर्मलले भने, ‘सकेसम्म मरेका पन्छीलाई सुरक्षित उपाय नगरी खुला हातले छुनु हुँदैन ।’

‘जंगली पन्छीका साथै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममा समेत अहिले बर्डफ्लु भेटिएका छन्,’ उनले भने, ‘उपत्यकाबाहेक सर्लाहीको एउटा र मोरङको दुई कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । बढी मात्रामा २४ देखि २८ साताको लेयरमा बर्डफ्लु देखिएको हो ।’

नेपालमा हालसम्म मानिसमा बर्डफ्लु नदेखिएकाले चिन्ताजनक अवस्था नरहेको इपिडिमियोलजी तथा रोग नियन्क्रण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बताए ।

शुत्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनका अनुसार बर्डफ्लु पन्छीबाट मानिसमा संक्रमित हुने सम्भावना रहन्छ, यसैले फन्छीलाई रेखदेख गर्ने व्यक्तिलाई अतिरित्त सतर्कता अपनाउनुपर्छ । ‘बर्डफ्लु देखिएको क्षेत्रका बासिन्दाले पन्छीको दिसा, रगत वा कुनै पनि तरल पदार्थ छुनबाट बच्ने प्रयास गर्नुपर्छ,’ उनले भने ।

उच्च तापमानमा राम्ररी नपकाइएको अन्डा वा मासु खान नहुने सुझाउँदै डा.पुनले भने, ‘श्वासको समस्या, मांसपेशीमा दुखाइ, खोकी, ज्वरो आदि अनुभव गरे चिकित्सकीय सल्लाह लिनुपर्छ ।’ मुलुकमा सबैभन्दा पहिले सन् २००९ मा झापामा बर्डफ्लु देखिएको थियो । पछि विस्तारै संक्रमण विभिन्न जिल्लामा देखिन थालेको हो । छिमेकी भारतमा सन् २००६ मा पहिलो पटक बर्डफ्लु देखिएको थियो ।

प्रकाशित : चैत्र २३, २०७५ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×